नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको चाप बढ्दो

आश्विन २१, २०७९
नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको चाप बढ्दो

चिकित्सा शिक्षाका स्नातक तह एमबीबीएस तथा बीडीएस पठनपाठन हुने मेडिकल कलेज नेपालमा २५ वटा छन् । ८५ वटा शैक्षिक संस्थामा नर्सिङ्गलगायत पारामेडिकल विषय अध्यापन हुन्छ। २५ वटा मेडिकल कलेजमा एमबीबीएसमा १८ सय ३५ र बीडीएसमा ५ सय ५० सिट छन् । स्वदेशी लगानीमा सञ्चालित सरकारी मेडिकल कलेजमा ३३ प्रतिशत र विदेशी लगानी भए ५० प्रतिशत विदेशी विद्यार्थी भर्ना हुन पाउने प्रावधान छ । विभिन्न मेडिकल कलेजमा गरी विदेशी विद्यार्थीका लागि ५ सय सिट रहे पनि यो वर्ष भारत, अमेरिका, श्रीलंकालगायत मुलुकका २ सय ४० विदेशी विद्यार्थी स्नातक तहमा भर्ना भएका छन् । जसमा ९५ प्रतिशत भारतीय विद्यार्थी छन् । पछिल्लो ५ वर्षको तुलनामा यो वर्ष विदेशी विद्यार्थी बढेका हुन्।नेपालमा चिकित्सा शिक्षा अध्ययन पुरा गरी फर्केका विदेशी विद्यार्थीले आफनो देशमा राम्रो स्वास्थ्य सेवा उपलव्ध गराउदै आइरहे्का छन् । अर्कोतिर विगतमा स्वदेशका मेडिकल कलेजमा भर्ना नपाएर बर्सेनि करिब दुई हजार नेपाली विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि विदेशिने गरेकोमा अहिले धेरै घटेका छन् । यो वर्ष त विदेशी विद्यार्थीहरु एमबीबीएस भर्नाका लागि लाइनबद्ध नै थिए । एक विदेशी विद्यार्थीका लागि पढाई अवधिभर करिब डेढ करोड रुपैयाँ खर्च हुन्छ । चिकित्सा शिक्षामा विदेशी विद्यार्थीको आकषर्णको केन्द्र बनाउन सके राम्रो विदेशी मुद्रा आयआर्जनमा समेत टे्वा पुग्ने छ । तर शिक्षाको गुणस्तरमा भने विशेष जोड दिन आवश्यक देखिन्छ ।