प्राविधिक शिक्षाको पाठ्यक्रममा \'क्रेडिट आवर\' परिवर्तन

आश्विन १०, २०७९
प्राविधिक शिक्षाको पाठ्यक्रममा 'क्रेडिट आवर' परिवर्तन

चौतर्फी आलोचना भएपछि सरकारले प्राविधिक शिक्षातर्फको अनिवार्य विषयको पाठ्यक्रममा पाठ्यघण्टा अर्थात 'क्रेडिट आवर' परिवर्तन गरेको छ । प्राविधिक शिक्षातर्फ ९ देखि १२ कक्षासम्मको अनिवार्य विषयको पाठ्यक्रममा पाठ्यघण्टा बढाइएको हो । यसअघि सरकारले अनिवार्य विषयको पाठ्यघण्टा घटाउनका साथै ऐछिक गणित विषय हटाएर पाठ्यक्रम बनाएपछि चर्को विरोध भएको थियो । प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थी उच्च शिक्षा अध्ययनबाटै बञ्चित हुने गरी पाठ्यक्रम कार्यान्वयनमा ल्याएपछि कान्तिपुर टेलिभिजनले प्राथमिकताका साथ समाचार प्रशारणपछि सरकार पाठ्यक्रम परिमार्जन गर्न बाध्य भएको हो ।

देशभरका सामुदायिक विद्यालयको कक्षा ९ देखि १२ सम्ममा सिभिल, इलेक्ट्रिकल, कम्युटर, कृषितर्फ बालिविज्ञान, पशुविज्ञानमा इन्जिनियरिङ विषयको पठनपाठन हुन्छ । प्राविधिक धारको अनिवार्य विषय नेपाली, अंग्रेजी, गणित, विज्ञानमा पाठ्यघण्टा घटार्इ ३ पाठ्यघण्टा अर्थात् वार्षिक कार्यघण्टा ९६ बनाइएपछि चौतफी विरोध भएको थियो । एक पाठ्यघण्टा बराबर ३२ कार्य घण्टा हुन्छ । उच्चशिक्षा अध्ययनका लागि विद्यार्थीमा दीर्घकालीन असर पर्ने भएपछि पाठ्यक्रम विकास केन्द्रले अनिवार्य विषयको पाठ्यघण्टा ३ बाट ५ पुयाइएको छ भने हटाइएको ऐच्छिक गणितलाई पनि समावेश गरिएको छ । अब प्रत्येक विषयको पढाइ १ सय ५८ कार्यघण्टा हुनेछ ।

साधारण शिक्षा र प्राविधिक तथा व्यवसायिक शिक्षाको पाठ्यघण्टा समान ३२–३२ थियो । पाठ्यक्रम परिमार्जनपछि प्राविधिक धारको पाठ्यघण्टा ४० पुगेको छ । पाठ्यघण्टा घटाइनु र ऐच्छिक गणित विषयसमेत हटाइएपछि चिन्तित भएका विद्यालय सञ्चालक र शिक्षक प्राविधिक धारको पाठ्यक्रम परिमार्जनले भने प्राविधिक शिक्षा बलियो हुने अपेक्षा गरेका छन् । 

प्राविधिक धारका विषयको ५० प्रतिशत कार्यघण्टा सैद्धान्तिक र ५० प्रतिशत कार्यघण्टा प्रयोगात्मक तथा व्यवहारिक अभ्यास गर्नुपर्ने व्यवस्था छ । देशभरका ४ सय ८४ विद्यालयमा २१ हजार विद्यार्थी प्राविधिक शिक्षा अध्ययनरत छन् ।