काभ्रेको शिक्षा सुधार्न कस्सियो जिल्ला समन्वय समिति

आश्विन १, २०७९
काभ्रेको शिक्षा सुधार्न कस्सियो जिल्ला समन्वय समिति

संघीयताको अभ्याससँगै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्र स्थानीय तहको जिम्मा लगाइयो । तर, यस्तो प्रयास थालिएको पाँच वर्ष बित्दासमेत स्थानीय तहहरुले शिक्षा क्षेत्रको सुधारमा स्पष्ट खाका कोर्न सकिरहेका छैनन् । काभ्रेमा भने जिल्ला समन्वय समितिले यो कामको अग्रसरता लिएको छ ।

अघिल्लो पटक स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यकाल अन्योलमै बिताएका थिए । अहिले भने जिल्ला समन्वय समितिको पहलमा शिक्षाको दीर्घकालीन विकासका लागि योजना बनाउन नवनिर्वाचित जनप्रतिनिधिलाई अग्रसर गराइएको छ । 

यो ५ वर्ष अवधिमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निकै खस्कियो । यसको अनुगमन गर्न स्थानीय तह असफल देखिए । शिक्षकहरु नै राजनीतिमा लिप्त भइदिँदा सामुदायिक विद्यालय लथालिङ्ग अवस्थामा पुगेको गुनासो बढ्न थाल्यो । शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी भने सरकारी निकायबीच समन्वय नहुँदा यो अवस्था आएको बताउँछन् । 

शिक्षा क्षेत्रको सुधारका लागि खाका कोर्न धुलिखेलमा आयोजित वृहत् भेलामा प्रदेशका महानिर्देशकदेखि शिक्षामन्त्री देबेन्द्र पौडेल पनि उपस्थित थिए । भेलामा मन्त्री पौडेलले शिक्षकहरुले आफ्नो कर्तव्य भुल्दा अहिलेको अवस्था आएको टिप्पणी गरे । 

काभ्रेमा काठमाडौं विश्वविद्यालयसहित नौ वटा क्याम्पस, ५ सय ३५ वटा सामुदायिक विद्यालय र १ सय २ वटा निजी विद्यालय सञ्चालनमा छन् । यसमध्ये एकाध सामुदायिक विद्यालय शैक्षिक गुणस्तरका हिसाबले अब्बल देखिए पनि अधिकांशको अवस्था नाजुक देखिएको छ ।