चिकित्सा शिक्षा अध्ययनमा घट्दो रुची

भाद्र २८, २०७९
चिकित्सा शिक्षा अध्ययनमा घट्दो रुची

चिकित्सा शिक्षा अध्ययन गर्ने चाहना धेरैको हुन्छ । विगतका वर्षमा चिकित्सा शिक्षा अध्ययन गर्न भर्ना हुन चाहेर पनि सिट नै नपाउने अवस्था थियो । तर यो वर्ष क्याम्पसहरुमा एक तिहाइ सिट खाली नै छन् । एमबीबीएस, बीडिएस, नर्सिङ जस्ता आकर्षण भएका विषयमा समेत विद्यार्थी कम मात्रै भर्ना भएका छन् । आर्थिक मन्दी र झन्झटिलो प्रक्रियाका कारण अध्ययनमा विद्यार्थीको रुची कम भएको हुनसक्ने बुझाइ विज्ञको छ ।

नेपालमा चिकित्सा शिक्षा स्नातक तहमा ८ हजार ६ सय विद्यार्थी पढाउने क्षमता छ । तर यस वर्ष एक तिहाई सिटमा विद्यार्थी भर्ना नै भएका छैनन् । चिकित्सा शिक्षा स्नातक तहको सबैभन्दा महत्वपूर्ण एमबीबीएस पठनपाठन हुने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं मेडिकललगायत १४ मेडिकल कलेजमा सिट अनुसार विद्यार्थी भर्ना भएनन् । बीडीएसतर्फ महाराजगञ्ज चिकित्सा क्याम्पस, काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सलगायत १३ कलेजमा ५ सय ५० सिटमध्ये ९१ रिक्त छन् । सबैभन्दा बढी सिट खाली बिएस्सी र बिएन नर्सिङमा छन् । नर्सिङमा २६ सय सिटमध्ये ४५ प्रतिशत अर्थात् ११ सय ९० सिटमा भर्ना नै भएनन् ।

त्यसो त विद्यार्थीहरु अध्ययनका लागि विदेश गएकाले नेपालका क्याम्पसमा सिट खाली भएको हो कि भन्ने आशंका गर्नेहरु पनि छन् । तर तथ्यांक हेर्दा त्यो देखिँदैन । पाँचवर्ष अघिसम्म एमबीबीएस अध्ययनका लागि वर्षेनी २ हजार विद्यार्थी विदेशीने गरेकोमा यो वर्ष ३ सयले मात्रै अनुमति लिएका छन् । झन्झटिलो भर्ना प्रक्रियाका कारण नै विद्यार्थीले चाहेर पनि पढ्न नपाएको कलेज सञ्चालक बताउँछन् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भएको चिकित्सा शिक्षाको पठनपाठन र सिट संख्या बढाउँदै लगेपछि विदेशीने विद्यार्थीको संख्यामा कमी आएको छ । अब प्रवेश परीक्षादेखि भर्ना प्रक्रियासम्म छिटो छरिटो बनाउँदै शुल्कसमेत सस्तो बनाउनुपर्ने देखिन्छ ।