रोल्पाको लिवाङमा विद्यालयमै स्वास्थ्य परीक्षण सेवा

भाद्र १६, २०७९
रोल्पाको लिवाङमा विद्यालयमै स्वास्थ्य परीक्षण सेवा

विद्यार्थीको उपस्थिति नियमित गराउन रोल्पाको एक सरकारी विद्यालयले स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ ।  करिब तीन हजार विद्यार्थी रहेको लिवाङको बालकल्याण नमूना माध्यमिक विद्यालयले आन्तरिक श्रोतबाट विद्यालयभित्रै तीन शैयाको स्वास्थ्य सेवा सुचारु गरेको हो ।

तीन शय्याको स्वास्थ्य सेवाका लागि लुम्बिनी प्रदेश सरकारले एक अनमी उपलब्ध गराएको छ भने विद्यालयले आन्तरिक स्रोतबाट स्टाफ नर्स राखेको छ । विद्यालयमा उपचार हुन नसक्ने  विरामीलाई  रोल्पा अस्पतालमा पठाउने गरिएको छ । अन्य समयमा छात्राका लागि महिनावारी व्यवस्थापन, सरसफाइ, पानी शुद्धिकरण, साबुन पानीले हात धुने तरिका, पोषण, बालबिवाह जस्ता विषयमा पनि परामर्श पनि दिने गरिएको छ । स्वास्थ्य सेवा विद्यालयमै पाएपछि विद्यार्थीहरु पनि खुसी छन् । 

बिरामी परेपछि एक घन्टा दूरीमा रहेको रोल्पा अस्पतालमा जानुपर्दा दैनिक ३० विद्यार्थीको पढाइ प्रभावित हुने गरेको थियो । अहिले दैनिक विद्यालयमा  १० देखि ३० विद्यार्थीको उपचार हुने गरेको छ । दैनिक १ बजेपछि बिरामीको उपचार गर्ने समय तोकिएको छ । 

विद्यालय परिसरमै स्वास्थ्य सेवा सञ्चालन गर्ने यो रोल्पाको पहिलो विद्यालय हो । त्यसो त रोल्पाको त्रिवेणी गाउँपालिकाले प्रत्येक विद्यालयमा एक नर्स /एक विद्यालय कार्यक्रम लागू गरेको छ ।