शिक्षाशास्त्रमा विद्यार्थीको आकर्षण घट्दो

भाद्र १५, २०७९
शिक्षाशास्त्रमा विद्यार्थीको आकर्षण घट्दो

विद्यालय तहको कक्षा ११ र १२ मा शिक्षाशास्त्र अध्ययन गर्ने विद्यार्थीको संख्या न्यून छ । एसइइमा उच्च श्रेणिमा पास हुने मेधावी विद्यार्थी विज्ञान, व्यवस्थापनलगायतका विषयतिर जाने र तल्लो ग्रेड आएकाले शिक्षा विषय रोज्ने गरेकै कारण सिकाइ उपलव्धि पनि घट्दो छ । अहिले विद्यालय तहमा शिक्षा विषय लिएर अध्ययन गर्न करिब ७० हजार मात्र छन् । जबकी पाँच वर्षअघिसम्म १ लाखभन्दा बढी थिए । शिक्षा विषय अध्ययन गर्न कम विद्यार्थी आउने र ती पनि धेरैजसो कमजोर ग्रेडमा पास भएकाहरु हुने गरेपछि कतिपय विद्यालयले पठन–पाठननै बन्द गरेका छन् ।

विद्यालयमा मात्र होइन विश्वविद्यालयमा पनि शिक्षाशास्त्रमा अध्ययन गर्ने विद्यार्थीको संख्या घटेको छ । महालेख परीक्षकको प्रतिवेदनअनुसार विश्वविद्यालयबाट २०७५/७६ मा २० हजार ६ जना, २०७६/७७ मा १४ हजार ८ सय १२ र २०७७/७८ मा ७ हजार १ सय १८ विद्यार्थीले शिक्षाशास्त्र अध्ययन गरेका छन् । शिक्षाशास्त्रमा अघिल्लो वर्षको तुलनामा २०७६/७७ मा २६ प्रतिशत र २०७७/७८ मा ५२ प्रतिशतले जनशक्ति उत्पादनमा घटेको छ । शिक्षक सेवा आयोग नियमित नखुल्नु र बजारको माग र रोजगारीबीच तालमेल नमिल्दा शिक्षाशास्त्रमा जनशक्ति उत्पादनमा घटेको हो । 

भविष्यमा राम्रो शिक्षक बने लक्ष्यका साथ कुनै बेला शिक्षाशास्त्र अध्ययनका लागि विद्यार्थीको चाप थेगि नसक्नु हुने क्याम्पसमा पनि अहिले विद्यार्थी खोज्नुपर्ने अवस्था छ । शिक्षाशास्त्रतर्फ विद्यार्थीको आकर्षण वढाउन शिक्षा नीतिमै परिवर्तनको आवश्यकता रहेको विज्ञको बुझार्इ छ । शिक्षा र रोजगार एक आपसका पुरक हुन् । विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्न र सरकारले पनि शिक्षकको बर्सेनी खुला विज्ञापन गर्नसके मात्रै शिक्षाशास्त्रमा विद्यार्थीको आकर्षण बढाउन सकिन्छ ।