औद्योगिक विकास र कानुनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प

फाल्गुन २, २०८२ |कान्तिपुर टीभी संवाददाता
औद्योगिक विकास र कानुनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई आगामी एक दशकभित्र १०० अर्ब डलरको आकारमा पुर्‍याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गर्नुभएको छ ।

हालको करिब ४५ अर्ब डलरको अर्थतन्त्रलाई गुणात्मक फड्को मार्न औद्योगिक उत्पादन, निर्यात प्रवर्द्धन र कानुनी अड्चनको अन्त्य अनिवार्य रहेको उहाँले बताउनुभएको हो । परिसंघले आयोजना गरेको स्वदेशी नेपालः मिट एन्ड ग्रेट, २०२६ कार्यक्रममा बोल्दै उहाँले परिसंघले यस विषयमा विस्तृत अध्ययन गरिरहेको समेत जानकारी दिनुभयो । 

अध्यक्ष पाण्डेले औद्योगिक विकास र रोजगारी सिर्जनाका लागि लगानीमैत्री वातावरण बनाउन सरकारसँग माग गर्नुभयो । अर्थतन्त्रको विकासका बाधक बनिरहेका कानुनहरू संशोधन गर्ने गृहकार्य सुस्त रहेको उहाँको गुनासो छ । परिसंघले कुन कानुन खारेज गर्ने र कुन संशोधन गर्ने भन्ने विषयमा स्पष्ट दफासहितको सुझाव सरकारलाई बुझाइसकेको उहाँले स्पष्ट पार्नुभयो । 

उहाँले नेपाल उद्योग परिसंघ र संयुक्त राष्ट्र संघ पुँजी विकास कोषबीचको सहकार्यमार्फत ‘एगोरा’ प्लेटफर्ममा आबद्ध भएको जानकारी गराउँदै यसले नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो । यसैगरी स्वदेशी उद्योगको संरक्षणका लागि ‘स्वदेशी’ कलेक्टिभ ट्रेडमार्कको प्रयोग र प्रवर्द्धनमा जोड दिइएको छ । 

सरकार, सार्वजनिक संस्था, नेपाली सेना तथा नेपाल प्रहरी जस्ता निकायहरूले स्वदेशी वस्तु र सेवाको प्रयोग अनिवार्य गरेमा औद्योगिक उत्पादनमा ठूलो टेवा पुग्ने विश्लेषण पाण्डेको छ । आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रका लागि उपभोग शैलीमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै उहाँले निजी क्षेत्र र सरकारको एकीकृत प्रयास आवश्यक रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.