दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको काम ६ महिनादेखि ठप्प

ड्रिलिङभन्दा अघि काम बढ्नै सकेन
पुस २५, २०८२ |चक्र भण्डारी
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको काम ६ महिनादेखि ठप्प

दैलेख । दैलेखको भैरवी गाउँपालिका जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणको काम अघि बढ्न सकेको छैन । 

एक वर्षअधि नै अन्तिम अन्वेषणअन्तर्गत ड्रिलिङको काम सकिएको थियो । पेट्रोलियम पदार्थको अन्वेषण र परिमाणबारे आधारभूत तथ्याङ्क आएको ६ महिना पुग्न लाग्दा पनि पेट्रोलियम अनुसन्धान आयोजना स्थलमा कुनै थप कामहरू अघि बढ्न सकेको छैन । जसका कारण स्थानीयमा फेरि काम बिचमै रोकिने हो कि भन्ने चिन्ता थपिएको छ ।

दैलेखको जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि चिनियाँ र नेपाली प्राविधिकसहितको टोलीले गत वर्ष जमिन मुनि ४ किमि बढी गहिराइ ड्रिलिङको काम सकिएको हो । त्यसलगत्तै गत असारमा १ सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको र यस्ले ५० वर्ष नेपाललाई पुग्ने प्रारम्भिक रिपोर्ट पनि आयो । 

रिपोर्टले निकै खुसी भएका जिल्लाबासी साउन महिनादेखि आयोजनास्थलमा उत्खनन र अन्य कुनै काम नहुँदा चिन्तामा छन् । अन्वेषणका लागि ल्याइएका उपकरणहरूमा खिया लाग्न थालेका छन् भने स्थानियहरू आफूले थाकथलो सरकारलाई बुझाँउदा पनि थप काम नहुने हो कि भनेर चिन्तित भएका छन् ।

चीन सरकारको २ अर्ब ५० करोड अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण चाइनाको जिओलोजिकल सर्वे कम्पनीले गरिरहेको छ । अन्वेषण पश्चातको अन्तिम रिपोर्टका लागि चाइना गएका चिनिया प्राविधिक टोली असार यता आयोजन स्थलमा आएका छैनन् । आयोजना स्थलमा रहेका उपकरणको सुरक्षा का लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाइएको छ ।

विज्ञहरूले पेटोलियम पदार्थको अनुसन्धान गर्दै जाँदा स्थानीयहरूमा उत्साह देखिएको थियो । चिनियाँ टोलीले सायस्मीक सर्वे, जियोलोजिकल सर्वे , म्याग्नेटो सर्वे र जिओ केमीकल स्याम्पेलिङ. सर्वे सफलतापूर्वक सम्पन्न गरेको थियो । सबैको प्रतिवेदन सकारात्मक आएपछि ड्रिलिङ कार्य मा पनि सफल अनुसन्धानले छिट्टै उत्पादन हुने अपेक्षा गरिएको थियो । तर अहिले काम रोकिएपछि स्थानीय निराश छन् ।

धार्मिक आस्थाका रूपमा दशकाैंदेखि अनवरत रूपमा पानीमाथि आगो बल्दै आएको दैलेखको सिरस्थान, नाभिस्थान र पादुका क्षेत्र धार्मिक तथा सांस्कृतिक केन्द्र पनि हो । वर्षौदेखि ज्वाला बलिरहेका यी स्थानमा पेट्रोलियम पदार्थ भएको यसअघिको अनुसन्धानले देखिइसकेको छ । 

देशकै गौरव आयोजनाको रूपमा हेरिरहेका जिल्लाबासीहरूले पछिल्लो दिनमा विभिन्न बाहानामा काममा ढिलाइ भइरहेकोमा चिन्तित छन् । सरकारी पक्षको चासो भएमा यस आयोजना तत्कालै काम अघि बढाउन सके देशकै आर्थिक अवस्था सुधार हुनुका साथै ठूलो संख्यामा देशभित्रै रोजगारी सृजना हुने अपेक्षा गरिएको छ ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।