धनकुटामा सुरक्षित वैदेशिक रोजगारीका लागि घुम्ती क्लिनिक

मंसिर २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
धनकुटामा सुरक्षित वैदेशिक रोजगारीका लागि घुम्ती क्लिनिक

धनकुटा । धनकुटा नगरपालिकामा सुरक्षित वैदेशिक रोजगारीमा जान चाहनेले अपनाउनुपर्ने सावधानी, कानुनी प्रावधान र सचेतनाबारे घुम्ती क्लिनिक सञ्चालन गरिएको छ ।

धनकुटा नगरपालिकाभित्रका विभिन्न ९ वटा वडा र यहाँ सञ्चालित केही सामुदायिक विद्यालयमा वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने कानुनी प्रक्रिया, श्रम-स्वीकृति, रोजगारदाता मुलुक र त्यहाँको कम्पनीका बारेमा जान्नुपर्ने आधारभूत ज्ञानबारे सचेतना कक्षा सञ्चालन गरिएको हो । 

घुम्ती क्लिनिकमा रोजगारीका लागि विदेश जाँदा लाग्ने रकम, एजेन्ट र कम्पनीबाट नेपाल र विदेशमा ठगिए कहाँ उजुरी गर्ने, अलपत्र पर्दा कसलाई सम्पर्क गर्ने तथा कानुनी सहयोग आवश्यक पर्दा अपनाउनुपर्ने प्रक्रियाका बारेमा शिक्षक, विद्यार्थी र तिनका अभिभावकलाई जानकारी गराइएको छ । 

वैदेशिक रोजगारीका नाममा हुनेगरेको ठगीका विभिन्न पक्ष वैदेशिक रोजगारीका क्रममा हुने मृत्यु, अंगभङ्ग र बिरामीले पाउने आर्थिक सहयोग र परिपुरणबारे पनि जानकारी गराइएको आप्रवासी स्रोत केन्द्र धनकुटाले जनाएको छ। धनकुटाबाट २०७७ सालयता मात्रै वैधानिक बाटोबाट २७ हजार १ सय ८३ जना वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ। तीमध्ये ५ हजार ४ सय २ जना महिला छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.