सेयरबजारमा सुधारसँगै सरकारको आम्दानी १८ अर्ब नाघ्यो, लगानीकर्ताको सम्पत्ति ८ खर्बले वृद्धि

श्रावण ४, २०८२ |सुदिल पोखरेल
सेयरबजारमा सुधारसँगै सरकारको आम्दानी १८ अर्ब नाघ्यो, लगानीकर्ताको सम्पत्ति ८ खर्बले वृद्धि

काठमाडौं । सेयरबजारमा आएको सुधारसँगै नेप्से परिसूचक बढेकोमात्र छैन, सरकारको आम्दानीसमेत बढेको छ । 

आर्थिक वर्ष २०८१/८२ मा लगानीकर्ताको सम्पत्ति ८ खर्बले बढ्दा राज्यलाई १८ अर्ब २१ करोड आम्दानी भएको छ । सरकारको यस्तो आम्दानी अघिल्लो वर्षको भन्दा १२ अर्ब बढी हो ।

नेप्से परिसूचक गत वर्षको साउन १ मा २३ सय ६४ अंक हाराहारीमा रहेकामा यो वर्षको साउन एक गतेसम्म ५ सय ६ अंकले बढेर २८ सय ७० अंकमा कायम भएको छ । 

एक वर्ष अघि ३९ खर्ब ४४ अर्ब रहेको लगानीकर्ताको सम्पत्ति ८ खर्बले बढेर ४७ अर्ब ८३ करोड पुगेको छ । यसरी नेप्से परिसूचक र लगानीकर्ताको सम्पत्ति बढ्दा सरकारले यो वर्ष १६ अर्ब ५८ करोड पुँजीगत लाभकर प्राप्त गरेको छ । 

जुन गत वर्षको तुलनामा ११ अर्ब ८ करोड बढी हो । योसँगै सेयर कारोबार गर्दा ब्रोकरहरूले लिने सेवा शुल्कमा १० प्रतिशत टिडिएस लाग्ने गरेको छ । जुन आर्थिक वर्ष २०८०/०८१ मा ६१ करोड मात्रै प्राप्त गरेकामा गत वर्ष १ अर्ब ६३ करोड प्राप्त भएको छ ।

सेयरबजारमा भएको वृद्धिले लगानीकर्ता र सरकारलाई मात्रै हैन यसको कारोबार गराउनेहरूको आम्दानी पनि बढेको छ। ब्रोकरले प्राप्त गर्ने आम्दानी गत एक वर्षमा ५ अर्ब ७८ करोडले बढेको छ । 

सेयरकिनबेच गर्ने तर समयमै हस्तान्तरण नगर्दा जरिवानामा पर्ने क्रम पनि बढेको देखिन्छ । सेयर हस्तान्तरण नगर्नेहरूले आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड ६५ लाख जरिवाना तिरेकामा गत वर्ष १७ करोड ८० लाख तिरेका छन् । 

यो एक वर्षमा सेयरबजारमा ६ लाख लगानीकर्ता थपिएको सीडीएस एण्ड क्लीयरिङ लिमिटेडले जानकारी दिएको छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।