काठमाडौं । व्यक्तिगत तहबाट वैदेशिक रोजगारीमा जानेहरू बढेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष व्यक्तिगत तहबाट वैदेशिक रोजगारीमा जाने ४० प्रतिशतले बढेका हुन् ।
पछिल्लो एक वर्षमा १ लाख ३३ हजार ६२७ जना व्यक्तिगत तहमा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । यसरी जाने महिला श्रमिकको संख्या २९ हजारभन्दा धेरै छ । आर्थिक वर्ष २०८०/८१ मा ९५ हजार ३८ जना मात्र गएका थिए । विशेषगरी युरोपेली मुलुक रोमानिया, क्रोएसिया, सर्विया, माल्टा लगायतका देशमा युवाहरू व्यक्तिगत तहबाट जाने गरेका हुन् । युरोपेली मुलुकसँग श्रम सम्झौता हुन नसक्दा संस्थागत मागपत्र आउने गरेको छैन ।
नेपालीका लागि खाडी र मलेसियामा मुख्य श्रम गन्तव्य हुन् । वैदेशिक रोजगार विभागका अनुसार संयुक्त अरब इमिरेट्स, कुवेत, कतार लगायतका खाडीका देशमा पनि व्यक्तिगत तहमा युवा जाने गरेका छन् । वैदेशिक रोजगारीमा भएको ९० प्रतिशत ठगी पनि व्यक्तिगत भिसामा हुने गरेको छ ।
भिजिट भिसाको दुरुपयोग रोक्न सरकारले नयाँ गन्तव्य मुलुकसँग उच्चस्तरको श्रम सम्झौता गर्ने बताए पनि अझै हुन सकेको छैन । पछिल्लो एक वर्षमा कुल ८ लाख ३९ हजार २ सय ६६ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।