युएईमा कार्यरत अदक्ष नेपाली श्रमिकको तलबमा वृद्धि, नयाँ न्यूनतम ३७,३९० रूपैयाँ निर्धारण

जेष्ठ २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
युएईमा कार्यरत अदक्ष नेपाली श्रमिकको तलबमा वृद्धि, नयाँ न्यूनतम ३७,३९० रूपैयाँ निर्धारण

काठमाडौं । संयुक्त अरब इमिरेट्समा अदक्ष नेपाली श्रमिकहरूको न्यूनतम ज्याला कम्तिमा ३७ हजार ३ सय ९० हुने भएको छ ।

नेपाल सरकारले युएइमा कार्यरत नेपाली श्रमिकको ज्याला १ हजार दिराम हुनुपर्ने सर्त राखेको छ । नेपालले तोकेभन्दा कम ज्याला भएका मागपत्र अब प्रमाणीकरण नहुने श्रममन्त्री शरतसिंह भण्डारीले जानकारी दिनुभएको छ । 

अर्धदक्ष श्रमिकको न्यूनतम ज्याला ४५ हजार ४ सय ८० र दक्ष श्रमिकको न्यूनतम ज्याला ५६ हजार ८५ रूपैयाँ तोकिएको छ । परराष्ट्र र कानुन मन्त्रालयको रायपछि न्यूनतम ज्यालाको मापदण्ड निर्धारण गरिएको हो ।

यसअघि वैदेशिक रोजगार विभागले मासिक ८ सय दिराम अर्थात् २९ हजार ९१२ रूपैयाँका मात्रपत्र पनि प्रमाणीकरण गरेको थियो । न्यूनतम ज्याला तोक्नका लागि युएइका अधिकारीहरूसँग पनि छलफल गरिएको थियो । 

युएमा करिब चार लाख नेपाली कार्यरत छन । युएइसँग सन् २०१९ को जुन महिनामा श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । युएइ नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुक हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.