काठमाडौं । नेपालका काष्ठ उद्योगले उत्पादन गरेका प्लाइउड निर्यात फेरि भारतले रोकेको छ । नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले झापाको काँकडभिट्टा नाकामा ३४ वटा ट्रक एक हप्तादेखि रोकिएको जानकारी दिनुभयो ।
भारतको ब्युरो अफ इन्डियन स्टयान्डर्ड -बीआईएसबाट निर्यातको अनुमति लिएका उद्योगले उत्पादन गरेका सामानको निर्यातमा समेत समस्या आएको हो । आउँदो साउन-भदौसम्मका लागि अनुमति नवीकरण गरेका उद्योगले समेत निर्यात गर्न पाएका छैनन् । प्लाइउडको निर्यातमा धनगढी, भैरहवा र नेपालगन्जबाट समेत समस्या भएको जनाइएको छ । उद्योगीहरूले कूटनीतिक लबिइङ गरी समस्या सुल्झाउन माग गरेका छन् ।
नेपालबाट भारतमा वार्षिक ७ देखि ८ अर्ब रुपैयाँ बराबरको सामान निर्यात हुने गरेको छ । प्लाइउडका साथै भारतमा सिमेन्ट निर्यात समेत सहज हुन सकिरहेको छैन । सिमेन्ट भारतको ब्युरो अफ इन्डियन स्टयान्डर्ड -बीआईएसका लागि एक दर्जनभन्दा बढी उद्योगले अनुमति मागेको भए पनि भारतले अझै निर्णय दिएको छैन ।
गत पुस २५ र २६ गते काठमाडौंमा सम्पन्न नेपाल-भारत वाणिज्य सचिवस्तरको बैठकमा आयात निर्यातमा सहजीकरण गर्ने, गैरभन्सार अवरोध हटाउने जस्ता विषयमा सहमति भएको थियो । तर भारतले पालना नगरेको उद्योगहरुको भनाइ छ । नेपालले वस्तु आयातमध्ये ६४ प्रतिशतभन्दा धेरै भारतबाट गर्छ । त्यस्तै ६८ प्रतिशत भन्दा बढी वस्तु निर्यात पनि भारतमै हुन गरेको छ ।