आयात बढ्दा पनि चलेन बजार

चैत्र ९, २०८१ |भरत रावल
आयात बढ्दा पनि चलेन बजार

काठमाडौं । मंसिर यता हरेक महिना डेढ खर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भइरहेको छ । अर्थतन्त्र चलायमान भएका बेला जति वस्तु आयात हुने गरेको थियो, अहिले त्यही अनुपातको आयात देखिन्छ । तर त्यसको प्रभाव बजारमा देखिएको छैन ।

चालु आर्थिक वर्षको कात्तिकसम्म गत वर्षकै हाराहारीमा वस्तु आयात भएको भन्सार विभागको तथ्यांक छ । तर मंसिरयता भने आयात निकै बढेको छ । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने गरी ८ महिनाको अवधिमा ११ खर्ब ४५ अर्बको वस्तु आयात भएपनि बजारमा भने प्रभाव देखिएको छ ।

उद्योगी व्यवसायीदेखि आम-उपभोक्तामा उत्साह छैन । आखिर किन आयातको तथ्यांक बढेको देखिएको हो त ?

वर्षभरी हुने खपतको एक तिहाइभन्दा बढी त दसैं-तिहारमा हुन्छ । यो बेला १ खर्ब ३० अर्ब हाराहारीको मात्रै वस्तु आयात भएकोमा मंसिर यता भने हरेक महिना डेढ खर्बभन्दा माथि पुगेको छ । विज्ञले स्वदेशमा उत्पादन नबढ्दा वस्तु आयात बढेको दाबी गरेका छन् ।

भन्सार विभागको चालु आर्थिक वर्षको ८ महिनाको तथ्यांक हेर्दा औद्योगिक कच्चा पदार्थसागै मोबाइल, घडी, फ्रिज, एसी, गाडीदेखि कृषिजन्य वस्तुको आयात बढेको छ । अन्तर्राष्ट्रिय घटनाक्रम हेरेर उद्योगीले कच्चापदार्थको आयात बढाउादा समग्र आयातमा वृद्धि देखिएको व्यवसायीको बुझाइ छ ।

बजार चलायमान हुन नसकेपछि २ वर्षयता आयात तथा निर्यात दुवै घट्दो क्रममा थियो । तर बजार चायमान नदेखिँदै एकाएक आयात बढ्नुले कतै पुँजी पलायन त भइरहेको छैन भन्ने प्रश्न उठाएको छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।