काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० दिनभित्रै निर्माण व्यवसायीहरूले बाँकी भुक्तानी पाउने दाबी गर्नु भएको छ । १७औं राष्ट्रिय निर्माण दिवसको अवसरमा शनिबार काठमाडौंमा प्रभातफेरी कार्यक्रममा सहभागी हुँदै मन्त्री दाहालले सो घोषणा गर्नु भएको हो ।
उहाँले निर्माण क्षेत्र विना विकास निर्माणका कामहरू अघि बढ्न नसक्ने उल्लेख गर्दै निर्माण व्यवसायीहरूको भुक्तानी प्रक्रिया अघि बढाउनका लागि आफूले शुक्रबार नै हस्ताक्षर गरिसकेको बताउनु भयो ।
उहाँले असोजको बाढी पहिरोले निर्माण सामग्री उत्पादन र आयातमा समस्या भइरहेको प्रति सरकार गम्भीर रहेको पनि बताउनु भयो । निर्माण व्यवसायीहरूका समस्या छिटै समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले समयमै राज्यले निर्माण व्यवसायीहरूको भुक्तानी दिन नसक्दा अहिलेको समस्या आएको जिकिर गर्नु भयो ।
उहाँले भन्नु भयो, “निर्माण क्षेत्र विना विकास निर्माणका कामहरू अघि बढ्न सक्दैनन् । राज्यले निर्माण गर्दैन । राज्यको तर्फबाट पनि विकास निर्माणका लागि कम्पनी एउटा खोलेको छ तर त्यो कम्पनी निष्क्रिय जस्तै छ । जति पनि विकास निर्माण सम्बन्धी निर्माणका कामहरू छन् यो यहाँहरूको मार्फतबाट हुने गर्दछ । स्वाभाविक रूपले यहाँहरूका समस्याहरू समाधान हुनु पर्छ । यहाँहरू समस्यामा रहेर त्यो काम गर्न सक्नु हुन्न । राज्यको तर्फबाट पनि जिम्मेवार भएर जुन भुक्तानी दिनु पर्ने छ, त्यो समयमै दिनु पर्छ । समयमै दिन नसक्दा राज्य पनि नाजवाफ भएको छ ।”
मन्त्री दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तर्फबाट यसको समाधान निकालिसकेको बताउँदै मन्त्रालयको तर्फबाट निर्माण व्यवसायीले पाउने भुक्तानी १० देखि १२ दिनभित्र पाउने गरी फाइलमा हस्ताक्षर गरिसकेको बताउनु भयो । “१० दिन कट्दैन होला यहाँहरूको भुक्तानीका लागि । निर्माण सामग्रीहरूको सन्दर्भमा गत असोजको बाढी पहिरोले गर्दा हाम्रा थुप्रै योजनामा समस्या भएको छ । सडक, पुल भत्किएको छ । निर्माण सामग्री उत्पादन गर्ने कम्पनी पनि तहसनहस भएका छन् । मूल्यभन्दा पनि प्राप्त गर्न नै समस्या पर्ने महसूस भएको छ । त्यसमा कसरी समाधान गर्ने भन्नेमा सरकारको ध्यान गएको छ”, उहाँले भन्नु भयो ।