काठमाडौं । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । गत वर्षभन्दा २० रुपैयाँ बढाएर सरकारले नयाँ समर्थन मूल्य तोकेको हो ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगीले किसानहरूलाई उपलब्ध गराउने रकम प्रतिक्विन्टल पाँच सय ८५ रुपैयाँ पुर्याइएको हो । सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । मन्त्रिपरिषद् बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गर्नु भएको थियो । तर, मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकम पछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
सरकारले यसअघि उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो । यो रकम समेत उद्योगीहरू मार्फत नै किसानलाई दिने गरिएको छ ।