बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरूको लगानीमा बनाउनुपर्छ : विश्वप्रकाश शर्मा

असार २, २०८१ |कान्तिपुर टीभी संवाददाता
बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरूको लगानीमा बनाउनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरूकै लगानीमा बन्नुपर्ने प्रस्ताव गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको लगानीमा सो आयोजना सम्पन्न गर्ने काम सरकारले गर्नुपर्ने उहाँले बताउनु भयो । 

आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले ‘मेरो सहभागितामा नेपाल बन्दै छ’ भन्ने कुराको सन्देश दिन पनि नेपाल भित्र र बाहिर रहेका नेपालीहरूको लगानीमा सो आयोजना सम्पन्न गर्न उपयुक्त हुने धारणा पनि राख्नुभयो । ‘सबै आग्रह पूर्वाग्रहभन्दा माथि उठेर स्वदेश र विदेशमा भएका समस्त नेपालीलाई गाँसी राखेर यो परियोजना निर्माण गरेर नेपाल बन्न सक्छ, बन्दै छ । र मेरो सहभागितामा बन्दै छ । नेपाल बन्ने एउटा उज्यालो दिशातिर जाँदै छ भन्ने सन्देश दिनका लागि सरकार सफल बन्नुपर्छ,’ उहाँले भन्नु भयो ।

महामन्त्री शर्माले नेपाल बन्न सक्छ र यो उज्यालो दिशातर्फ अगाडि बढ्दै छ भन्ने सन्देश दिन पनि सरकारले १२ सय मेगावाट क्षमताको सो आयोजनाको निर्माण कार्यमा ढिलाइ गर्न नहुने बताउनु भयो । उहाँले वैदेशिक ऋणको पासोमा पर्नबाट जोगिन पनि सरकारले वैदेशिक ऋण लिएर यस्ता ठूला आयोजनाहरू अघि बढ्न नहुने बताउनु भयो । 

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दाका ऋण तिर्न नसकिने अवस्था विद्यमान रहेको पनि महामन्त्री शर्मा स्मरण गराउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.