ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न सांसदहरूको आग्रह

बुढीगण्डकी र तमोर जस्ता जलाशययुक्त आयोजना निर्माणको काम तत्काल अघि बढाउन माग
असार २, २०८१ |कान्तिपुर टीभी संवाददाता
ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न सांसदहरूको आग्रह

काठमाडौं । सांसदहरूले ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिएर बुढीगण्डकी र तमोर जस्ता जलाशययुक्त आयोजना निर्माणको काम तत्काल अगाडि बढाउन माग गरेका छन् ।

विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफलमा भाग लिएका सांसदहरूले ऊर्जा क्षेत्रका ठूला आयोजना अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले जुनसुकै परिस्थितिमा पनि बूढीगण्डकी आयोजना अगाडि बढाउन माग गर्नुभयो ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी परेको भन्दै त्यसका लागि राज्यले सहजीकरण गरिदिनुपर्ने बताउनुभयो । उहाँले जलासययुक्त आयोजनालाई प्राथमिकता दिन माग गर्नुभयो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले अहिलेको बजेट धेरै महत्त्वाकांक्षी नभएको र कार्यान्वयनमा लैजान सके राम्रो प्रभाव पर्ने दाबी  गर्नुभयो । अहिले संसद्‌मा संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाई  र अर्थ मन्त्रालयअन्तर्गतको बजेटमाथि छलफल भइरहेको छ । 

त्यस अगाडि आकस्मिक समयमा बोलेका सांसदहरूले कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाका हत्यारालाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.