झापा । परदेशमा पसिना बगाएर धन कमाउनु पक्कै पनि सजिलो छैन । तर, त्यही धनले सिंगो परिवारमा मिल्ने खुसीले भने धेरै नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा धकेलेको छ । झापा बाह्रदशी गाउँपालिका-६ डाँगीबारीका सन्तलाल राजवंशीको परिवारमा छोरा गोपालले वैदेशिक रोजगारीबाट पठाइदिएको रेमिट्यान्सले खुसी ल्याइदिएको छ ।
झापाको बाह्रदशी गाउँपालिका- ६ डाँगीबारी, पटुबारी टोलका ६२ वर्षीय सन्तलाल राजवंशीकी श्रीमती भोटसरीलाई ३ छोरी र एक छोरा हुर्काउन निकै संघर्ष गर्नुपर्यो । आफ्नो नाममा न घर न जग्गा । सकी-नसकी अरुकोमा ज्यालादारी गर्नुको विकल्प थिएन । तर, रातपछि दिन भने झै अहिले सन्तलाल दम्पतीको मुख हाँसो छाएको छ, मनमा खुसी । चिटिक्क परेको घर छ, गरिखाने जग्गा पनि । छोरा गोपालले साउदी अरब गएर पैसा पठाउन थालेपछि राजवंशी परिवारको दुःख हटेको हो ।
साउदी अरबमा स्विमिङ पुलमा काम गर्ने गोपालले महिनैपिच्छे ५० हजारदेखि २ लाख रुपैयाँसम्म पठाउनुहुन्छ । परिवारका सबै सदस्य खुसी छन् । सम्बन्ध पनि राम्रो छ । गोपालका ३ वर्षीया छोरा निजी स्कुलमा पढ्छन् । राई जातकी युवतीसँग प्रेम विवाह गरेका गोपाल र उनकी श्रीमती रक्षाबीच पनि सुमधुर सम्बन्ध छ ।
राजवंशी परिवार अब सुकुम्बासी रहेन । आफ्नै जग्गामा घर छ । गोपालले साउदी अरबमा मेहेनत गर्नुहुन्छ । परिवारका बाँकी सदस्यले यहीँ सकेको परिश्रम गर्छन् । वैदेशिक रोजगारीले केही समयका लागि टाढा गराए पनि फेरि छिट्टै एक गाउँ हुने र सँगै खुसीसाथ बस्ने राजवंशी परिवारको योजना छ ।