तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

चैत्र १८, २०८० |कान्तिपुर टीभी संवाददाता
तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका १ र व्यास नगरपालिका ५ को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर सञ्चालक समिति अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्त रुपमा स्विच दबाएर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो ।

आयोजनाको प्याकेज २ अन्तर्गत जलाशयको मुहान (इनटेक) बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार ४९३ मिटर सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । मुख्य सुरुङको व्यास ७.४ मिटर रहनेछ । अब मुख्य सुरुङको कंक्रिट लाइनिङ गरिनेछ । मुख्य सुरुङबाट गएको पानीलाई २१३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युत्‌गृहमा खसाली विद्युत् उत्पादन गरिनेछ ।

सुरुङ ‘ब्रेक थ्रु’ गर्न आयोजित समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सिग्देलले धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको र मुख्य बाँध निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गरे । ‘कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजनाको अनुभवले दूधकोशी, नलगाढ, बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना विकास गर्न निर्देशित र थप विश्वास दिलाउँछ, आयोजना तोकिएकै समयमा सम्पन्न हुनुपर्छ,’ उनले भने ।

सुक्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेबार भएर लाग्नुपर्ने धारणा राखे । ‘मुख्य बाँध निर्माणका लागि नदी फर्काउने र मुख्य सुरुङ ब्रेक थ्रु गरी आयोजनाका मूख्य माइलस्टोनहरु पूरा भएका छन्, निर्माणाधीन ठूलो जलाशययुक्त आयोजना तोकिएकै समयमा सम्पन्न गर्न बाँध निर्माणको काम तीव्र बनाउन आयोजना व्यवस्थापन, परामर्शदाता निर्माण व्यवसायी सबै जिम्मेवार भएर लाग्नुपर्छ,’ उनले भने । उनले आयोजननाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा विकास गर्न लागिएको १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माण छिटै अगाडि बढाइने प्रतिबद्धतासमेत जनाए ।

आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध-सञ्चालक किरणकुमार श्रेष्ठ र आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, बेहोरिरहेका समस्यालगायत विषयमा जानकारी गराएका थिए ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.