सुनकोशी-मरिण डाइभर्सन : एक महिनाभित्रै सुरुङको ब्रेक थ्रु

बाँध निर्माणको कामले गति लिन्छ : ऊर्जामन्त्री बस्नेत
चैत्र १७, २०८० |राजकुमार कार्की
सुनकोशी-मरिण डाइभर्सन : एक महिनाभित्रै सुरुङको ब्रेक थ्रु

सिन्धुली । सुनकोशी-मरिण डाइभर्सनअन्तर्गत सुरुङको एक महिनाभित्रै ब्रेक थ्रु हुने भएको छ । शनिबारसम्म १३ दशमलव तीन किलोमिटरमध्ये १२ किलोमिटर ५ सय १७ मिटर सुरुङ निर्माणको काम सकिएको छ । अब ७८३ मिटर सुरुङको काम मात्र बाँकी छ ।

राष्ट्रिय गौरवको आयोजना सुनकोशी-मरिण डाइभर्सनअन्तर्गत सुरुङको काम सिन्धुलीको कमलामाई नगरपालिका २ को कुसुमटारदेखि सुनकोशी गाउँपालिका ७ को कानढुंग्रीसम्म हो । कानढुंग्रीमा पुगेपछि सुनकोशी नदी भेटिन्छ ।

२०७९ असोज २८ गते सुरुङ खन्ने काम सुरु भएको थियो । नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिणखोलामा खसाली मधेश प्रदेशका पाँच जिल्लामा सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजना प्रमुख मित्र बरालले सुरुङ खन्न २२ महिनाको लक्ष्य लिइएकामा यही रफ्तारमा गए ६ महिनाअगावै सम्पन्न हुने बताए ।

एकै दिन ७२ मिटरसम्म सुरुङ खनिएको रेकर्ड आयोजनासँग छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले शनिबार सुरुङको निरीक्षण गर्दै सरकारले प्राथमिकतामा राखेको आयोजना भएकाले अब एक महिनाभित्रै ब्रेक थ्रु हुने र सुनकोशीमा बाँध निर्माणको कामलेसमेत गति लिने बताए ।

सुरुङ निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ-कोभेकले अहिले दैनिक सरदर ३५ मिटरदेखि ४० मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खनेको छ । सुरुङ खन्न मात्रै चाइना ओभरसिज कम्पनी कोभेकले १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा ठेक्का पाएको थियो ।

१५ अर्ब ५९ करोड ४० लाख रुपैयाँको सुरुङ निर्माण कोभेकले ३६ प्रतिशत घटेर ठेक्का लिएको हो । सुनकोशीमा बाँध निर्माणलगायत कामको १७ अर्ब ७५ करोडको ठेक्का रमण-पटेल जेभीले ३२ प्रतिशत घटेर १२ अर्बमा सकारेको छ ।

आयोजनाका अनुसार खुर्कोटमा सुनकोशी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका २ कुसुमटारस्थित मरिणखोलामा खसालिनेछ । त्यहाँ ३१ दशमलव शून्य ७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने रहेको छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड छ ।


Image

राजकुमार कार्की

कार्की कान्तिपुर टेलिभिजनका सिन्धुली संवाददाता हुन् ।