प्रधानमन्त्री दाहालको ‘उथलपुथल’को आशय के ?

चैत्र १७, २०८० |सुमन पन्थ
प्रधानमन्त्री दाहालको ‘उथलपुथल’को आशय के ?

काठमाडौं । करिब १५ महिनाको कार्यकालमा विकास निर्माणको कामलाई गति दिलाउन नसकेका प्रधानमन्त्री पुष्पकमल दाहालले दिनहुँजसो निर्देशन दिइरहेका छन् ।

प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र सिंहदरबारका प्रशासकहरुको बिहीबारको बैठकमा पनि कामलाई तीव्रता दिन निर्देशन दिएका प्रधानमन्त्रीले आफूले भनेजस्तो काम नभए फेरि ‘उथलपुथल’ गर्ने बताए । यसअघि गठबन्धन परिवर्तन भएको दिन उथपुथलको कुरा गरेका उनले फेरि त्यही शब्द दोहोर्‍याए । देशका कार्यकारीले किन यसरी पटक-पटक दोहोरो अर्थ लाग्ने शब्द बोलिरहेका छन् ?

विकास निर्माणमा देखिएका समस्याको समाधान गर्ने नेपाल सरकारको सबैभन्दा ठूलो संयन्त्र हो, राष्ट्रिय विकास समस्या समाधान समिति । समस्या परेको विषयलाई तत्काल समाधान गर्ने संयन्त्र भए पनि प्रधानमन्त्रीले यसको उपयोग गर्न सकेका छैनन् । बरु यहि संयन्त्रको बैठकमा दोहोरो अर्थ लाग्ने ‘उथलपुथल गर्ने’ अभिव्यक्ति दिएका छन् ।

राष्ट्रिय समस्या समाधान समितिको बैठकमा मात्र होइन, हरेकजसो बैठक र सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री विकास निर्माणलाई तीव्रता दिने बताइरहन्छन् । जस्तै, गत पुसमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले विकास निर्माणको अभियानलाई गति दिन बुट मोडलमा काम गर्ने घोषणा नै गरे ।

तीन सिफ्टमा काम गराएर राष्ट्रिय गौरवका आयोजना गति दिलाउने पनि भने । तर प्रधानमन्त्रीको भनाइ र गराइमा कत्ति मेल नखाएको तथ्यांकले नै देखाउँछ । आर्थिक वर्ष सकिन साढे तीन महिना बाँकी रहँदा गौरवका आयोजनामा सूचीकृत पूर्वाधारका आयोजनाको औसत प्रगति ५० प्रतिशत पनि पुग्न सकेको छैन । काम भएको छैन भन्ने प्रधानमन्त्रीलाई थाहा नभएको पनि होइन, तर समस्याको समाधान खोज्नुपर्नेमा प्रधानमन्त्रीको निर्देशन मात्रै आएको भौतिक पूर्वाधार मन्त्रालयका पूर्वसचिव मधुसूदन अधिकारीको भनाइ छ ।

वन, वातावरणदेखि खरिद ऐनसम्मका कानुनमा १५ वर्षदेखि अनेक समस्या छन् जुन विकास निर्माणका लागि तगारो बनेका छन् । कर्मचारीतन्त्रको निर्णय क्षमता घटेको छ । प्रधानमन्त्री भने देखिएका समस्या समाधानका लागि समन्वय गर्नेभन्दा पनि ठाडो निर्देशन र वक्तव्यबाजीमा सीमित देखिएका छन् ।

मन्त्रीहरुको कार्यसम्पादन रिपोर्टमा धेरै अंकको अपेक्षा गर्ने प्रधानमन्त्रीको आफ्नै कार्यसम्पादन कमजोर छ । राष्ट्रिय योजना आयोगले बिहीबार सार्वजनिक गरेको रिपोर्टले पनि विकास खर्च नभएको, प्रदेशसँगको समन्वय नभएको र आर्थिक सूचकहरु सकारात्मक नभएको देखाएको छ । यस्तोमा, प्रधानमन्त्रीले उथलपुथलको कुरा गर्नु कत्तिको सुहाउने कुरा हो ?


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।