चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो’ आगामी वैशाखमा, २०० भन्दा बढी स्टल रहने

माघ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो’ आगामी वैशाखमा, २०० भन्दा बढी स्टल रहने

काठमाडौं । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ आगामी वैशाख १२ गतेदेखि हुने भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पान र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा आगामी वैशाख १२, १३ र १४ गते काठमाडौंमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागिएको जानकारी दिइएको हो । इप्पानले ‘समृद्धिका लागि हरित ऊर्जा’ नारासहित हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागेको जनाएको हो ।

सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत निर्यात गर्ने र २८ हजार पाँच सय मेगावाट उत्पादन गर्ने मार्गचित्र सरकारले निर्माण गरेको अवस्थामा यस्तो एक्स्पोले समग्र ऊर्जा क्षेत्रको विकासमा महत्त्वपूर्ण हुने अपेक्षा आयोजकको छ । ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकाले मूर्त रुप दिने गरी निजी क्षेत्रबाट हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जनाइयो ।

नेपालमा उत्पादित विद्युत्‌‌को खपत वृद्धि र निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदानप्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने अपेक्षा आयोजकको छ । पत्रकार सम्मेलनमा इप्पानका महासचिव बलराम खतिवडाले दिगो, समावेशी, हरित,पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन, व्यवस्थापनलगायत सात विषयमा अन्तर्क्रिया हुने जानकारी दिए ।

उनले एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, बुल्गेरिया, चेक रिपब्लिक इटली, स्विडेन, बेलायत र ब्राजिललगायत देशका कम्पनी तथा सरोकारवाला निकाय आउने जनाए । जलविद्युत् लगानीकर्ता, उत्पादक, इन्जिनियर गरी तीन दिनमा ५० हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्ने अपेक्षा रहेको महासचिव खतिवडाको भनाइ छ ।

त्यस्तै, इप्पानका अध्यक्ष गणेश कार्कीले मुलुक ऊर्जामय भएको अवस्था रहेको दाबी गरे । उनले २०३५ सम्म १३ हजार मेगावाट नेपालमा उत्पादित विद्युत् खपत गर्ने लक्ष्य रहेको भन्दै विशेष गरी विद्युत् उत्पादनमा जोड दिनुपर्ने अवस्था रहेको जनाए । उनले १० वर्षमा १० हजार मेगावाट भारत सरकारले किन्ने सम्झौता भएको छ तर १० हजार मेगावाट विद्युत् उत्पादन गर्न विषय गम्भीर रहेको बताए ।

अध्यक्ष कार्कीले एक्स्पोमा १३ हजार विद्युत् मुलुकभित्रै खपत गर्ने उपायको खोजी गरिने पनि बताए । नेपालले १० वर्षमा १५ हजार मेगावाट विद्युत् निर्यात गर्न समस्या पर्ने अवस्था नभएको उनको भनाइ छ । अध्यक्ष कार्कीले राज्यको सक्रियतामा नीतिगत सुधार गरिदिए निजी क्षेत्रलाई सँगै लैजाने हो भने ३० हजार मेगावाट निर्यात गर्न सकिने दाबी गरे । उनले विद्युत् उत्पादन, खपत र निर्यातका लागि सरकारले सबैभन्दा पहिला नीतिगत सुधार गर्न आवश्यक रहेको बताए ।

एक्स्पोमा २०० भन्दा बढी स्टल रहनेछन् । २०० मध्ये ५० प्रतिशत स्वदेशी स्टल रहने आयोजकले जनाएको छ । एक्स्पोमा सहभागिताका लागि बुधबारदेखि स्टल बुकिङ खुला गरिएको जानकारी आयोजकले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.