दुबई पुगेर प्रधानमन्त्री दाहालले गरे नेपालमा लगानी गर्न आग्रह

मंसिर १५, २०८० |रासस
दुबई पुगेर प्रधानमन्त्री दाहालले गरे नेपालमा लगानी गर्न आग्रह

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा पुँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । 

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप-२८ मा सहभागी हुन बिहीबार युएई पुगेका प्रधानमन्त्रीले बिहीबार साँझै नेपाल-दुबई  व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पुँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरे । 

दुबई उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रूपमा आयोजना गरेको  कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी पनि दिए । 

कार्यक्रममा युएई र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरूको उपस्थिति थियो । 

बिहीबारदेखि कोप-२८ दुबईमा प्रारम्भ भएको छ ।