‘बोइङ-७५७ गण्डकी’ बिक्रीका लागि निगमद्वारा चौथो पटक टेन्डर आह्वान

मंसिर ३, २०८० |कान्तिपुर टीभी संवाददाता
‘बोइङ-७५७ गण्डकी’ बिक्रीका लागि निगमद्वारा चौथो पटक टेन्डर आह्वान

काठमाडौं । नेपाल वायुसेवा निगमले ‘बोइङ-७५७ गण्डकी’ बिक्रीका लागि चौथो पटक टेन्डर आह्वान गरेको छ ।

यो जहाज बिक्रीका लागि सन् २०१८ मा पहिलो पटक टेन्डर आह्वान गरिएको भए पनि हाल सम्म बिक्री भएको छैन । निगममा ‘एयरबस’ भित्रिएसँगै दुई फरक कम्पनीको जहाजको मर्मत-सम्भार महँगो पर्ने भन्दै बोइङ बिक्रीका लागि टेन्डर आह्वान गर्न थालिएको हो । 

यो बोइङ जहाज २०७६ असारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्क्याएर राखिएको छ । सन् १९८८ मा बनेको यो जहाजले ८९ हजार ४ सय ६२ घण्टा उडान गरिसकेको छ ।

निगमले आह्वान गरेको टेन्डरमा इच्छुक कम्पनीलाई जहाज खरिदका लागि आवेदन दिन मङ्सिर ५ गतेसम्मको समय दिएको छ । टेन्डर अनुसार इच्छुक कम्पनीले जहाज, पाट पुर्जा र इन्जिन किन्नुपर्नेछ । जहाजको इन्जिन स्पेनको आइबेरिया मेन्टिनेन्स कम्पनीमा छ ।  

निगमले ३५ वर्षअघि दुईवटा बोइङ खरिद गरेकामा ‘कर्णाली’ नाम दिइएको बोइङ गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टलाई ५ वर्षअघि नै विक्री गरेको थियो । 

भट्टले १४ करोड ६० लाख रुपैयाँमा किनेको जहाज पनि विमानस्थलमै थन्क्याएर राखिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.