काठमाडौं । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदै छ । प्रचारात्मक कार्यक्रम गरी धान दिवस मनाइरहँदा देशका अधिकांश स्थानमा रोपाइँ हुन सकेको छैन । जलवायु परिवर्तनले मुख्य खाद्यान्न बाली धानमा प्रत्यक्ष असर पुर्याइरहेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मध्य असारसम्म पनि देशभर १२ प्रतिशत पनि रोपाई हुन सकेको छैन । मौसम अनुकूल नहुँदा र कुल खेतीयोग्य जमिन मध्ये ३३ प्रतिशतमा पुगेको सिँचाइका कारण पर्याप्त रोपाइँ हुन नसकेको हो ।
यता विश्वव्यापी समस्याको रूपमा रहेको जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरी धानको उत्पादन दिगो र उच्च कायम राख्न सक्नु चुनौतीको विषय बनेको छ । जलवायु परिवर्तन मात्र होइन तीव्र रूपमा भइरहेको जमिनको खण्डीकरण र यान्त्रीकरणको अभाव धान उत्पादनका लागि चुनौती बनेका छन् ।
नेपालमा वार्षिक साढे १४ लाख हेक्टर जमिनमा धान खेती गरिने भए पनि वार्षिक उत्पादन ५५ लाख टन छ । अहिले पनि १० लाख टन धानको अभाव रहेको सरकारी आकलन छ । वार्षिक ४५ अर्बभन्दा बढीको धान चामल आयात हुने गरेको छ । कृषिजन्य वस्तुमा सबैभन्दा धेरै आयात धान चामल नै हुने गरेकाले धानमा लगानी बढाउनुपर्ने सुझाव विज्ञको छ ।
यता सरकारले धान चामलको आयात न्यूनीकरणका लागि १ लाख २० हजार हेक्टरमा रहेको चैते धान खेतीको विस्तार, सिँचाइ पूर्वाधार थप्ने र नेपाल कृषि अनुसन्धान परिषद्ले विकास गरेका बीउ किसान सम्म पुर्याउने नीति लिएको छ । मसिनो चामलको मागलाई लक्षित गर्ने गरि कार्यक्रम तर्जुमा गरिएको सरकारी अधिकारीहरूको दाबी छ ।
किसानको सहज पहुँच, उन्नत बिउ र पर्याप्त रासायनिक मल नहुँदा नेपालमा धानको उत्पादकत्व प्रति हेक्टर ३ दशमलव ७ प्रतिशत छ । समुन्द्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबभन्दा उच्च स्थान जुम्लाको छुमचौरमा ३०५० मिटर उचाइसम्म धानको खेती गरिन्छ ।