विद्युत् व्यापारमा प्राधिकरणले बेहोर्‍यो चालु आर्थिक वर्षमा झन्डै ९ अर्ब घाटा

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
विद्युत् व्यापारमा प्राधिकरणले बेहोर्‍यो चालु आर्थिक वर्षमा झन्डै ९ अर्ब घाटा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत् व्यापारमा झन्डै ९ अर्ब घाटा बेहोरेको छ ।

प्राधिकरणले भारतमा बिजुली निर्यात गरेर ८ अर्ब ४३ करोड कमाएकोमा आयातबापत अहिलेसम्म १७ अर्ब २९ करोड बाहिरिएको हो । यसअनुसार विद्युत् व्यापारमा ८ अर्ब ९६ करोड घाटा बेहोरिसकेको प्राधिकरणले जनाएको छ । केही दिन पानी परेकाले गत जेठ १३ गते २५ मेगावाट निर्यात गरे पनि अहिले उल्टै ३ सय मेगावाट आयात गर्नुपर्ने स्थिति छ । 

जबकि गत वर्ष यही समयमा १ सय ८ मेगावाट निर्यात गरिएको थियो । गर्मी बढे पनि  विगतका वर्षमा जस्तो हिमनदीमा बहाव नबढेकाले अहिले पनि बिजुली आयात गर्नुपर्ने स्थिति रहेको प्राधिकरणको भनाइ छ । गत बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा नेपालबाट आगामी १० वर्षमा  १० हजार मेगावाट बिजुली आयात गर्ने बताएका थिए । 

पानी परेर खोलाको बहाव केही बढेको र तराईमा बिजुलीको माग पनि कम भएपछि जेठ १३ गते २५ मेगावाट निर्यात भएको थियो ।  तर, अहिले पुनः माग बढेको छ भने खोलामा पानीको बहावमा आएको कमीका कारण उत्पादन घटेको छ । गत वर्ष बिजुलीको उच्च माग हुने यो समयमा १ हजार ५ सय ९५ मेगावाट माग रहेकामा अहिले बढेर १ हजार ९ सय ६१ मेगावाट पुगेको छ । 

अब वर्षा सुरु भएसँगै असार पहिलो साताबाट मात्र बिजुली निर्यात गर्न सकिने प्राधिकरणको आकलन छ । अहिले भने अधिकांश आयोजना पूर्ण क्षमतामा चल्ने स्थिति नरहेको प्राधिकरणको भनाइ छ ।

अहिले १ सय ४४ मेगावाटको कालीगण्डकी जलविद्युत आयोजनाबाट ९५ मेगावाट र  ७० मेगावाटको मध्यर्मस्याङ्दीबाट ६० मेगावाट मात्रै उत्पादन भइरहेको छ । गत वर्ष यो समयमा दुवै आयोजना पूर्ण क्षमतामा चलेका थिए । अहिले भारत निर्यातका लागि ४ सय ५२ मेगावाट अनुमति छ । तर आउँदो बर्सातमा उत्पादन बढ्ने भएकाले ८ सय मेगावाट प्राधिकरणले निर्यात गर्नुपर्नेछ ।  

थप बिजुली निर्यातका लागि प्राधिकरण भारतको स्वीकृति पर्खाइमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.