रासायनिक मलमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न सरकारलाई एमालेको माग

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
रासायनिक मलमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न सरकारलाई एमालेको माग

काठमाडौं । सरकारले गत फागुन २६ गते रासायनिक मलमा दिँदै आएको अनुदान भारीमात्रामा कटौती गर्ने निर्णय गर्यो । त्यसकारण युरियामा प्रतिकेजी ११, डिएपीमा ७ र पोटासमा ९ रुपियाँले मूल्यबृद्धि भयो ।

सरकारको उक्त निर्णयको सर्वत्र विरोध र आलोचनासमेत भयो । नेकपा एमालेको कृषि तथा पशुपन्छी विकास विभागले पनि सरकारको उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेको सो विभागले रासायनिक मलमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न मागसमेत गरेको छ ।

मलमा गरिएको मूल्यबृद्धिको प्रत्यक्ष मार नेपाली किसान र आम उपभोक्तामा पर्न गएको छ एमालेको ठहर छ । यसका साथै रासायनिक मलमा अनुदान कटौती गरी स्वदेशी उत्पादनलाई निरुत्साहित गर्न र भारतीय कृषि उपजको व्यापार बढाउन सरकार उद्यत रहेको आरोप पनि एमालेको छ । कृषि उत्पादनमा आत्मनिर्भर बन्नेतर्फ पनि वर्तमान सरकारले बेवास्ता गरिरहेको एमालेको भनाइ रहेको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य युरियाको प्रति मेट्रिक टन १२०० बाट घटेर ५०२, डीएपी प्रति मेट्रिक टन १३०० बाट घटेर ८३२, पोटास प्रति मेट्रिक टन ९०० बाट घटेर ७३७ अमेरिकी डलर कायम भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, 'यसरी अन्तर्राष्ट्रिय बजारमा मूल्य घटिरहेको अवस्थामा नेपाली किसानलाई मार पर्ने गरी मूल्य बृद्धि गर्ने निर्णयको औचित्य पुष्टि हुन सक्दैन ।'

हचुवाको भरमा असंवेदनशील निर्णय गरिएको भन्दै सरकारलाई मलमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गरेको छ ।