दाङमा चालु आर्थिक वर्षको पुँजीगत खर्च निराशाजनक (भिडियो रिपोर्ट)

चैत्र ५, २०७९ |अमर क्षितिज भण्डारी
दाङमा चालु आर्थिक वर्षको पुँजीगत खर्च निराशाजनक (भिडियो रिपोर्ट)

दाङ । दाङमा चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा पुँजीगत खर्च कमजोर देखिएको छ । यो अवधिमा संघीय सरकारबाट प्राप्त रकम ३३ प्रतिशत, प्रदेश सरकारबाट प्राप्त रकम २७ प्रतिशत मात्र खर्च भएको छ भने स्थानीय तहहरुको वित्तीय प्रगति पनि निराशाजनक देखिएको छ ।

चालु आर्थिक वर्ष २०७९/०८० सकिन केही महिना मात्रै बाँकी रहँदा दाङमा आर्थिक वर्षमा खर्च हुने रकमको अवस्था भने नाजुक रहेको छ । सघं सरकारबाट विनियोजित ३ अर्ब २४ करोड ४४ लाखमध्ये १ अर्ब २४ करोड २४ लाख ५६ हजार अर्थात ३३ प्रतिशत मात्रै खर्च भएको छ । लुम्बिनी प्रदेश सरकारबाट दाङमा विनियोजित ४ अर्ब ९८ करोड ७९ लाखमध्ये १ अर्ब ३९ करोड ५८ लाख ५५ हजार मात्रै अर्थात २७ प्रतिशतमात्रै खर्च भएको छ । दाङका २ उपमहानगरपालिका १ नगरपालिका र ७ गाँउपालिकाको पु्ँजीगत खर्च १० देखि २० प्रतिशत मात्रै खर्च भएको छ ।

लुम्बिनी प्रदेशको दाङ जिल्लामात्रै नभएर समग्र लुम्बिनी प्रदेश सरकारको वित्तिय प्रगति सुस्त देखिएको छ । आर्थिक वर्ष सकिन ४ महिना मात्रै बाँकी रहँदा लुम्बिनी प्रदेश सरकारको चालु खर्च २८ दशमलब ८९ र पुँजीगत खर्च २० दशमलब ९८ प्रतिशत छ ।

बजेट समयमा खर्च हुन नसक्दा यसको प्रभाव धेरै क्षेत्रमा पर्ने गरेको छ । बजेट खर्च नहुादा अर्थतन्त्र चलायमान हुन नपाउने, रोजगारीको सिर्जना नहुने अवस्था आउFछ । यसबाट उद्योगधन्दा र व्यापार,व्यवसायमासमेत प्रभाव देखिने अर्थशास्त्रका जानकार बताउँछन् ।

समयमै विकास निर्माणका कार्य सम्पन्न गर्नका लागि भनेर तीनवटै सरकारले समयमै बजेट ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन भएको देखिँदैन । संघीय सरकारले १५ जेठमा, प्रदेश सरकारले १ असारमा र स्थानीय तहहरूले १० असारभित्र नै बजेट ल्याउने गरेका छन् ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।