सेबोनको १० बुँदे प्रस्टीकरण, अध्यक्ष हमाल भन्छन्- वैदेशिक रोजगारीमा गएका नेपालीलाई १० प्रतिशत सेयर आरक्षण

माघ २३, २०७९ |कान्तिपुर टीभी संवाददाता
सेबोनको १० बुँदे प्रस्टीकरण, अध्यक्ष हमाल भन्छन्- वैदेशिक रोजगारीमा गएका नेपालीलाई १० प्रतिशत सेयर आरक्षण

काठमाडौं । आफूविरुद्ध नियोजित आक्रमण भइरहेको भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले प्रस्टीकरण दिएका छन् । आफूले धितोपत्र बजारको विकास र विस्तारका क्रममा देखिएका व्यवस्थापकीय एवं अर्थतन्त्र विस्तारमा नवीनतम सुरुवात गरेको दाबी गरेका छन् । उनले आफ्नो नियुक्त धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्देश्यका साथ भएको पनि जनाएका छन् ।

आफू बोर्डमा अध्यक्ष भएर आएपछि राम्रो काम गर्दागर्दै पनि निहित स्वार्थ रहेका व्यक्तिहरुबाट चरित्र हत्या गरेको आरोप लगाउँदै अध्यक्ष हमालले आफूले गरेका काम १० बुँदामा समेटेर सोमबार विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् । ‘लामो समयदेखि रहन गएको नेतृत्वविहीनको अवस्था चिर्दै लगानी एवं व्यवस्थापन क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामो अनुभवलाई मध्यनजर गर्दै २०७८ फागुनमा व्यवस्थापकीय एवं अर्थतन्त्र विस्तारमा नवीनतम सुरुवात गरी नेपालको धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्देश्यका साथ मेरो नियुक्ति भएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

नियमनकारी निकायका रुपमा रहेको बोर्डको काम कारबाहीलाई आफूले पूर्ण रुपमा पारदर्शी बनाएको दाबी गरेका छन् । मैले अगाडि बढाएका कार्यहरु पुँजीबजारको अन्तर्राष्ट्रिय मान्यताअनुरुप नै रहेका छन । मेरो नेतृत्वमा स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतिस्पर्धी धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास र विस्तारका लागि मुख्य रुपमा देहायअनुसारका कार्यहरु सम्पादन गरिएको अध्यक्ष हमालले दाबी गरेका छन् ।

उनका अनुसार वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक सेयर निष्कासनमा १० प्रतिशत सेयर आरक्षण व्यवस्था हुने व्यवस्था मिलाइएको छ । ‘उक्त व्यवस्था गरिएसँगै देशको शोधनान्तर स्थिति सबल बनाउँदै विदेशबाट विप्रेषण आप्रवाह (रेमिट्यान्स) औपचारिक माध्यमबाट भित्र्याउनलाई प्रोत्साहन तथा सहयोग भई वैदेशिक विनिमय सञ्चितिमा सहयोग पुगेको छ,’ अध्यक्ष हमालले भने, ‘यस व्यवस्थाले हुन्डीमार्फत हुने कारोबार निरुत्साहित हुने सम्भावना प्रवल देखिन्छ ।’

यस्तो छ धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालद्वारा जारी विज्ञप्ति :

लामो समयदेखि रहन गएको नेतृत्व विहिनको अवस्थालाई चिर्दै लगानी एंव व्यबस्थापन क्षेत्रमा राष्ट्रीय तथा अन्तर्राष्ट्रिय लामो अनुभवलाई मध्यनजर गर्दे २०७८ फागुनमा नेपाल सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षको रुपमा मलाई नियुक्त गरेको कुरा यहाँहरु सबैलाई विदितै छ । तीन दशक लामो इतिहास बोकेको संस्थाको नेतृत्वमा रहेर उक्त अवधिमा धितोपत्र बजारको विकास र विस्तारका क्रममा देखिएका व्यबस्थापकिय एंव अर्थतन्त्र बिस्तारमा नविनतम सुरुवात गरी नेपालको धितोपत्र बजारलाई अन्तराष्ट्रीय स्तरको बनाउने उद्देश्यका साथ मेरो नियुक्ति भएको थियो ।

केही समययता बोर्ड अध्यक्षका रुपमा मविरुद्ध नियोजित रुममा केही समाचारहरु प्रकाशन भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उल्लेखित समाचारमा लगाईएका आरोपहरु निराधार र कपोकल्पित छन । उक्त समाचार मार्फत मेरो चरित्र हत्या गर्न खोजिएको बिषयलाई मैले गम्भिर रुपमा लिएको छु । यस्तो तथ्यहीन भ्रामक समाचार प्रकाशन पत्रकारिताको मूल मान्यता, मर्म र सिद्धान्तअनुरुप हुनै सक्दैन । मेरो व्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले प्रायोजित रुपमा प्रकाशित समाचारहरुका सम्बन्धमा करिब २० वर्षदेखि विदेशमा रही विज्ञका रुपमा काम गर्दा नेपाली नागरिकको हैसियतमा काम गरेको । मैले कुनै पनि कालखण्डमा नेपालीबाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी लिएको । एउटा नेपाली नागरिक रहेर यो देशको सेवा गर्न पाउने विषयलाई मैले गर्वको रुपमा लिएको छु ।

गत वर्ष धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएपश्चात मैले यस बजारसँग सम्बन्धित विभिन्न सुधारका कार्यहरुलाई रफ्तारका साथ अगाडि बढाएको छु । नियमनकारी निकायका रुपमा रहेको बोर्डको काम कारबाहीलाई पूर्ण रुपमा पारदर्शी बनाएको छु । मैले अगाडि बढाएका कार्यहरु पुँजी बजारको अन्तर्राष्ट्रिय मान्यताअनुरुप नै रहेका छन । मेरो नेतृत्वमा स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतिस्पर्धी धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास र विस्तारका लागि मुख्य रुपमा देहायअनुसारका कार्यहरु सम्पादन गरिएका छन् ।

१. लगानीकर्ताहरुले विकसित बजारमा उपलब्ध भएका विशेषता तथा सुविधा सहितको सेवा प्राप्त गर्न सक्ने गरी नेप्सेको कारोबार प्रणालीसँग आबद्ध हुने गरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) स्थापना गर्न सक्ने गरी धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को तेस्रो संशोधन गरी २०७९ वैशाख १६ देखि लागु गरिएको छ ।

२. सूचीकृत संगठित संस्थाको गाभ्ने गाभिने क्रममा सेयर कारोबार वर्षौंसम्म रोक्का रहने आमलगानिकर्ताको सेयर बन्धक रहनेलगायतका समस्या रहेकोमा ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ बनाई स्पष्ट नीति तथा व्यवस्था गरिएको छ । साथै यस नीतिअनुरुप १५ दिनभन्दा बढी कारोबार रोक्का नरहने व्यवस्थासमेत लागु गरिसकिएको छ । गाभ्ने गाभिने प्रक्रियाका लागी दिइएको निवेदनउपर आवश्यक छानबिन गरी बढीमा तीन दिनभित्र स्विकृती दिने व्यबस्था लागु गरिसकिएको छ ।

३. सर्वसाधारण लगानीकर्ताको हकहितलाई ध्यान दिदैं बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिदसम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा १०० (एक सय) रुपैयाँ सेवा शुल्क लिन सक्ने विगतको व्यवस्थामा परिमार्जन गरी बढीमा ५ (पाँच) रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ ।

४. वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक सेयर निष्कासनमा १० प्रतिशत सेयर आरक्षण व्यवस्था हुने व्यवस्था मिलाइएको छ । उक्त व्यवस्था गरिएसँगै देशको शोधनान्तर स्थिति सबल बनाउँदै विदेशबाट विप्रेषण आप्रवाह (रेमिट्यान्स) औपचारिक माध्यमबाट भित्र्याउनलाई प्रोत्साहन तथा सहयोग भई वैदेशिक विनिमय संचितिमा सहयोग पुगेको छ । यस व्यवस्थाले हुन्डीमार्फत हुने कारोबार निरुत्साहित हुने सम्भावना प्रवल देखिन्छ ।

५. नवीनतम सोच तथा ज्ञान भएका तर पर्याप्त स्वपुँजी एवं धितो सुरक्षण नभएका स्टार्टअपका लागि पुँजी तथा व्यावसायिक ज्ञान बिनाधितो दिन मिल्ने अन्तराष्ट्रीय अभ्यास अनुसार देशमा भित्र्याउन पहिलो पटक नेपालमा ९ वटा विशिष्टिकृत लगानी कोष व्यवस्थापकलाई अनुमति पत्र जारी गरीएको ।

६. धितोपत्र दलाल तथा व्यापारीको अनुमतिपत्रमा ‘कोटा प्रणाली’ मार्फत अनुमति प्रदान गरिँदै आएकोमा यसको सेवा तथा गुणस्तर स्वच्छ, निष्पक्ष पारदर्शी र प्रतिष्पर्धी बनाउन ‘ओपन इन्ट्री एन्ड एक्जिट’ नीतिमार्फत मापदण्ड पुग्ने सबैलाई ३५ दिनभित्र सीमासमय तोकी अनुमति प्रदान गर्न नेपाल सरकारको निर्णय अनुसार नियमावली स्वीकृति गराई आवेदन आह्वान गरिएकामा सम्मानित सर्वोच्च अदालतबाट उक्त निर्णय हाललाई कार्यान्वयन नगराउन आदेश भएको ।

७. धितोपत्र बजारमा लगानीकर्ताको पहुँच वृद्धि सँगसँगै प्रतिस्पर्धी अन्तर्राष्ट्रिय प्रविधियुक्त धितोपत्र बजारका लागि आवश्यक आवेदन कार्य अगाडि बढाइएकोमा सम्मानित सर्वोच्च अदालतको अल्पकालीन आदेशबमोजिम सोसम्बन्धी कार्य हाल स्थगनमा रहेको ।

८. वस्तु विनिमय संयन्त्र विकासका लागी आवस्यक कार्य अगाडि बढाइएको छ । वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ तथा वस्तु विनिमय बजारसम्बन्धी नियमावली, २०७४ जारी भएको पाँच वर्षसम्म पनि यससम्बन्धी आवश्यक कार्य अगाडि नबढिरहेको अवस्थामा बस्तु विनिमय बजार संयन्त्रको विकास तथा विस्तारका लागि बोर्डले २०७९/०६/०२ गते सूचना प्रकाशित गरी वस्तु विनिमय बजार स्थापनाका लागि आवेदन माग गरिएकामा सम्मानित सर्वोच्च अदालतको अल्पकालिन आदेश बमोजिम सो सम्वन्धी कार्य स्थगन गरिएको छ ।

९. धितोपत्रसम्बन्धी कसुरहरुमा संगठित संस्थाका सञ्चालकहरुलाई कारबाही गरी भित्री कारोबार भए नभएको सम्बन्धमा छानबिन गर्न बोर्डको इतिहासमा नै पहिलो पटक दुईवटा केशमा तहकिकात अधिकारी नियुक्त गरी कार्य अगाडि बढाईएको छ ।

१० . धितोपत्रसम्बन्धी ऐन र सोअन्तर्गत बनेका नियमावली, निर्देशिका र विनियमावलीअनुरुप कार्य नगर्ने धितोपत्र दलाल व्यवसायीहरुलाई ऐन तथा नियम अनुसार कारबाही गरिएको छ । त्यस्तै, संस्थाको वित्तीय विवरण ढिला गरी पेस गर्ने मर्चेन्ट बैंकरहरुलाई हदैसम्मको कारबाही किन नगर्ने भनी सफाइ पेस गर्न सूचित गरिएको । त्यस्तै क्रेडिट रेटिङमा ‘स्वार्थको द्वन्द्व देखिने कम्पनी’ लाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको ।

धितोपत्र बजारमा सुरु भएको विभिन्न सुधारको अभियानको क्रममा बोर्ड अध्यक्षप्रति लक्षित गरी सञ्चारमाध्यममा यसरी तथ्यहीन समाचारहरु संप्रेषण हुनु गम्भीर विषय हो । पद्धति र थिति निर्माण गरी यस क्षेत्रमा भएको उल्लेखनीय हस्तक्षेप एंव विगतदेखि निहित स्वार्थ समूहको इच्छाविपरीत साहसिक रुपमा ठोस पहलकदमीबाट तिल्मिलाएकाहरुबाट सम्प्रेषित समाचारहरु स्वत खण्डनीय नै छन । निश्चित स्वर्थसमुहको लाभका लागी मनोगढन्ते समाचार सम्प्रेषण गर्नु भन्दा लगानीकर्ताको हितमा हुनुपर्ने सुधारका कार्यमा सकारात्मक सुझाव सहित सहयोगको अपेक्षा समेत राख्दछु । यस प्रकारको क्रियाकलापबाट म कत्ति पनि विचलित भएको छैन । कानुनबमोजिम सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्दै स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतिस्पर्धी धितोपत्र बजार तथा समग्र धितोपत्र बजारको विकास तथा विस्तार गर्दै राष्ट्रिय पुँजी निर्माण र परिचालन मार्फत मात्र देश समृद्ध हुने व्यहोरा अनुरोध गर्दछु । साथै, सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्दै स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतीस्पर्धी धितोपत्र बजार तथा समग्र धितोपत्र बजारको विकास तथा विस्तार गर्दै राष्ट्रिय पूँजी निर्माण र परिचालनमा रचनात्मक सहयोगका लागि सम्बन्धित सबैमा अनुरोध गर्न चाहन्छु ।

रमेशकुमार हमाल

अध्यक्ष

नेपाल धितोपत्र बोर्ड


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.