राष्ट्र बैंक घटायो कर्जा र निक्षेप बीचको ब्याज अन्तर

मंसिर ११, २०७९
राष्ट्र बैंक घटायो कर्जा र निक्षेप बीचको ब्याज अन्तर

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर बढ्न नदिनका लागि भन्दै कर्जा र निक्षेप बीचको ब्याजदर अन्तर घटाएको छ । आइतबार मौद्रिक नीति २०७९/०८० को पहिलो त्रैमासको समीक्षा गर्दै स्प्रेडदर घटाएको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूको औसत ब्याजदर अन्तर ४ दशमलव चार प्रतिशतबाट घटाएर ४ प्रतिशत बनाएको छ ।

त्यस्तै विकास बैंक र वित्त कम्पनीले कायम गर्नुपर्ने ब्याजदर अन्तर पनि ५ प्रतिशतबाट ४ दशमलव ६ प्रतिशत कायम गर्ने भएको छ । तत्काल ब्याजदर थप बढ्न नदिन र तरलता व्यवस्थापनका लागि यस्तो उपाय अपनाइएको राष्ट्र बैंकले जनाएको छ । यसले बैंकहरूको नाफामा भने केही असर गर्नेछ ।

त्यसैगरि कृषि क्षेत्रका कम्पनीले जारी गरेको ऋणपत्रमा लगानी गरे पनि बैंक तथा वित्त संस्थाहरूले कृषि क्षेत्रमा लगानी गरेको मानिने भएको छ । र, अब लघुवित्तहरूले पनि आगामी माघ देखि आधार दर मासिक रूपमा प्रकाशन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।