जनकपुरमा साहित्य महोत्सवले जुराएको विश्लेषक र समीक्षकहरूको जमघट

फाल्गुन १२, २०८० |अमरकान्त ठाकुर
जनकपुरमा साहित्य महोत्सवले जुराएको विश्लेषक र समीक्षकहरूको जमघट

जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधाममा अहिले साहित्यसम्बन्धी वृहत् चर्चा भइरहेको छ । अन्तर्राष्ट्रिय नाट्य महोत्सव सम्पन्न भएको एक महिना नबित्दै जनकपुरमा साहित्यकार, राजनीतिक विश्लेषक तथा समीक्षक हरूको जमघट भएको हो । तीन दिने महोत्सवले साहित्यिक परिचर्चासँगै सामाजिक कुरीति र विसंगतिलाई मात्र उठाएन समसामयिक राजनीतिमा पनि बहस भयो । 

यो मिथिला क्षेत्रमा लोप हुन लागेको बाजा पिपही हो । यो बाजा विवाह, पूजापाठ र विभिन्न समारोहमा बजाइन्छ । मिथिला क्षेत्रका गाउँघरमा रहेका यस्ता सम्पदा हरू संरक्षणको पर्खाइमा छन् । यस्तै कुरामाथि चर्चा परिचर्चा गर्न पछिल्लो पाँच वर्षदेखि जनकपुरमा साहित्य महोत्सव हुने गरेको छ । यस पटकको महोत्सवमा साहित्य, कला र संगीतबारे मात्रै चर्चा भएन समसामयिक राजनीतिमाथि पनि बहस भयो ।  

राम मन्दिरको पार्कमा आयोजित महोत्सवमा विभिन्न १८ सत्रमा देश विदेशका १ सय ५० भन्दा धेरै स्रष्टा सहभागी भएर आ-आफ्ना मत र दृष्टिकोण जाहेर गरे । यो जमघटले मैथिली साहित्य, कला संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । साहित्य र सांस्कृतिक आदानप्रदानको माध्यमबाट लोक कल्याणको लागि सामाजिक जागरूकता बढाउने साहित्यकारहरूको विश्वास छ ।

जनकपुरधाम मिथिला संस्कृति र संस्कारको राजधानी हो । महोत्सवले कला, साहित्य, संस्कृतिलाई पर्यटकीय कोणबाट देशभर प्रचारप्रसार गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ । साथै लोप हुन लागेको शास्त्रार्थ तथा संवाद परम्परालाई युवा पुस्तामा हस्तान्तरण गर्ने लक्ष्य पनि आयोजकको छ ।

महोत्सवमा विद्यालय स्तरीय कविता र वक्तृत्वकला प्रतियोगिता गरेर युवा पिँढीलाई साहित्य र समाज चिनाउने काम भएको छ । नव मिथिला फाउन्डेसनले पाँचौ पटक आयोजना गरेको जनकपुरधाम साहित्य महोत्सव साहित्यसँगै सामाजिक, राजनीतिक र समुदायको उत्थानको बहस गर्ने थलो बनेको छ ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।