शाही पार्श्ववर्ती विवेककुमार शाहको दोस्रो कृति ‘दरबारबाट देखेको नेपाल’ सार्वजनिक

फाल्गुन १२, २०८० |कान्तिपुर टीभी संवाददाता
शाही पार्श्ववर्ती विवेककुमार शाहको दोस्रो कृति ‘दरबारबाट देखेको नेपाल’ सार्वजनिक

काठमाडौं । चर्चित पुस्तक ‘मैले देखेको दरबार’का लेखक विवेकुमार शाहको दोस्रो पुस्तक ‘दरबारबाट देखेको नेपाल’ सार्वजनिक भएको छ । 

काठमाडौंमा आयोजित पुस्तक सार्वजनक कार्यक्रममा शाहले दरबारमा शाही पार्श्ववर्तीदेखि सैनिक सचिवसम्मको भूमिकामा रहँदा देखेका, भोगेका घटनाक्रमलाई पुस्तकमा समेटेको बताए । दरबारबाट देखेको नेपाल, छोटो जीवनको लामो यात्रा र जीवन एक अनुभूति अनेक गरी तीन खण्ड गरेर शाहले पुस्तकमा आफ्नो अनुभव समेटेका छन् ।

कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले पुस्तकको समीक्षा गर्दै शाहले पुस्तकमा दरबारभित्रको अनुभव मात्र नभएर नेपाल र भारतबीचको तिक्ततापूर्ण सम्बन्ध र चीनलाई चिन्न नसकेको विषय पनि गम्भीर ढंगले उठाएको जनाए ।

अधिकारीले शाहले पहिलो पुस्तक ‘मैले देखेको दरबार’मा जनताका लागि रहस्यमा रहेको राजदरबारबारे सुसूचित गर्ने काम गरेको र दोस्रो पुस्तकमार्फत दरबारभित्रका थप आयाम खुलाउँदै आफ्नो जीवन अनुभवबाट मान्छेलाई सन्देश दिने प्रकारले लेखेको बताए ।

कार्यक्रममा संविधानविद विपीन अधिकारी, पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक डा. गोविन्दबहादुर थापा र पूर्व सचिव द्वारिकालाल ढुंगेलले पनि पुस्तकबारे परिचर्चा गरेका थिए ।

साढे ३५ वर्ष नेपाली सेनामा रही ३० वर्ष राजदरबारको सेवामा बिताएका पूर्व रथी शाहले राजा वीरेन्द्र, रानी ऐश्वर्य, पूर्व राजा ज्ञानेन्द्रदेखि लिएर राजपरिवारका सदस्यहरुबारे आफूले समेटेको अनुभव पुस्तकमा समेटेका छन् । त्यस्तै, माओवादीको सशस्त्र विद्रोहदेखि पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछिका घटनाक्रम र राजतन्त्र अन्त्य हुँदासम्मका विषय उल्लेख गरेका छन् । शाहको पहिलो पुस्तक ‘मैले देखेको दरबार’ २०६७ सालमा प्रकाशित भएको थियो ।

सांग्रिला बुक्सबाट प्रकाशित ३ सय ५० पृष्ठको पुस्तकको मूल्य ७ सय ७५ रुपैयाँ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.