नेपाल भारत साहित्य महोत्सव विराटनगरमा सम्पन्न (भिडियो)

चैत्र ६, २०७९ |महाप्रसाद खतिवडा
नेपाल भारत साहित्य महोत्सव विराटनगरमा सम्पन्न (भिडियो)

जनकपुर । तीन दिने नेपाल भारत साहित्य महोत्सव विराटनगरमा सम्पन्न भएको छ । नेपालका दुई सय ८० र भारतका ७० जना साहित्यकार र श्रष्टा सहभागी यो महोत्सवले दुवै देशको साहित्यलाई संमृद्ध बनाउन, पठन संस्कृतिको विकास गर्न र नेपाल भारतबीचको सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण रहेको सहभागीले बताएका छन् ।

नेपाल भारत साहित्य महोत्सवमा भारतबाट आएका ७० र नेपालको विभिन्न ठाउँबाट आएका श्रष्टाहरूले आफ्नो सिर्जनाबाट विकृति र विसंगतिमा औँला उठाउनका साथै माया, प्रेम, चेतना र राजनीतिक कटाक्ष गरेका छन् ।

विराटनगर महानगरपालिका र क्रान्तिधरा साहित्य अकादमी मेरठ भारतको संयुक्त अयोजनामा सुरू भएको महोत्सव विराटनगर घोषणापत्र गर्दै सम्पन्न भएको छ । महोत्सवबाट नेपाल र भारतबीच भाइचारा सम्बन्ध अझ सुदृढ हुनुका साथै साहित्यिक आदानप्रदान भएको सहभागीले बताएका छन् ।

क्रान्तिधराले पहिलो पटक सन् २०१७ मा वीरगञ्जमा साहित्य सम्मेलन गरेको थियो । त्यसपछिको दुई वटा सम्मेलन काठमाडौंमा गरेको क्रान्तिधराले चौथो सम्मेलन विराटनगरमा गरेको हो । महोत्सवमा भाग लिन भारतको सिक्किम, असम, अरूणाञ्चल प्रदेश, मेघालय, मिजोरम, त्रिपुरा, उत्तर प्रदेश, बिहार, दिल्ली, हरियाणा, राजस्थान, हिमाञ्चल प्रदेश, महाराष्ट्रलगायतबाट श्रष्टा तथा साहित्यकार विराटनगर आएका थिए ।

क्रान्तिधरा साहित्य अकादेमीका संस्थापक डा. विजय पण्डितले भने, ‘वसुधैव कुटुम्बकमको भावनाबाट नेपाल र भारतबीचको ऐतिहासिक, आध्यात्मिक र सांस्कृतिक सम्बन्ध छ । त्यसलाई हामी पुनजिवीत गर्न चाहान्छौँ । मजबुत बनाउन चाहान्छौँ र दुवै देशको बीचमा साहित्य सेता स्थापना गर्न चाहान्छौँ ।’

अधिकांश साहित्य कार्यक्रम औपचारिकतामा मात्र सीमित हुने भन्दा पनि साहित्यलाई संमृद्ध बनाउने, दुवै देशको नागरिकस्तरको सम्बन्धलाई सुदृढ र मजबुत बनाउने तथा पठन संस्कृतिको विकास गर्नेतर्फ केन्द्रित हुन आवश्यक छ ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।