चिकित्सकको नजरमा कर्णालीका आमाको कथा

पुस १६, २०७९ |अश्विनी सिटौला
चिकित्सकको नजरमा कर्णालीका आमाको कथा

काठमाडौं । कर्णालीलाई काठमाडौँले कसरी हेर्छ ? दुर्गम भूगोल, भोकमरी वा गरिबीको रूपमा ? कर्णालीको माटोमा हुर्कनेहरू भन्छन्– कर्णाली, काठमाडौँले सोचेजस्तो गरिब छैन । प्राकृतिक स्रोत साधनको धनी कर्णालीमा राज्यको नजर नपरेको मात्र हो ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शनिबार कर्णालीबारे बहस भयो । खासगरी, कर्णालीका आमाहरूले भोगिरहेका समस्याबारे जनस्वास्थ्यविद्ले मर्मस्पर्शी चर्चा गरे । 

कर्णालीको सदरमुकाम सुर्खेतमा जन्मेर विदेशबाट उच्च शिक्षा लिएका डाक्टर नवराज केसी बालरोग विशेषज्ञ हुन् । कर्णालीका अस्पतालमा लामो समय काम गरेका उनले बालबालिकाको उपचार गर्दा आमाहरूको स्वास्थ्यबारे जानकारी नहुने कुरै भएन ।

कर्णालीका आमाहरूको सास, साहस र स्नेह सबैका लागि प्रेरणादायी रहेको चिकित्सक केसीको निष्कर्ष छ । कर्णालीमा जनस्वास्थ्यको स्थितिबारे चिकित्सकीय अनुभव सँगालेका डा. नवराज केसीले ‘शून्यको मूल्य’ नामक पुस्तकसमेत सार्वजनिक गरेका छन् । 

लेखक तथा बालरोग विशेषज्ञ डा. केसी भन्छन्, ‘मानव सभ्यताले आफूले आफैँलाई लगानी गर्नुपर्ने ठाउँमा छुटाएको छ भन्ने लागेर यो किताब लेखिएको हो । म बच्चाको डाक्टर भएको हिसाबले आमाहरू उपचारको क्रममा मसँग आउनुहुन्छ । उनीहरूलाई हामीले सामाजिक, शारीरिक रूपमा बलियो बनाएको भए समाजको इतिहासकै कोर्स परिवर्तन गर्न सक्थ्यौँ कि ?’

कर्णाली, काठमाडौँले सोचेजस्तो गरिब छैन । प्राकृतिक स्रोत साधनको धनी कर्णालीमा राज्यको नजर नपरेको मात्र हो ।

डा. केसीको किताबमाथि टिप्पणी गर्दै जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती भन्छिन्, ‘यो किताबमा नेपाली आमा र विशेष गरेर कर्णालीका आमाले पाएको दुख, वेदना पीडा छ । विशेषगरी उनीहरूको र बालबालिकाको कसरी मृत्यु हुन्छ भन्ने कुरालाई डा. केसीले आफ्नै तरिकाले लेख्नुभएको छ । हरेक कथा कथा होइन, मान्छेको जीवनको व्यथा हो र साँच्चिकै घटेको घटना हो । यो किताबले कर्णालीको अवस्था कस्तो छ भन्ने कुरा छर्लङ्ग गराउँछ ।’

डा. उप्रेती थप्छिन्, ‘यो किताबमा नेपाली महिलाहरूको व्यथा मात्र छैन, समाजशास्त्रको विज्ञान पढ्नेका लागि उपयोगी छ । म यो किताब हरेक घरघरमा हुनुपर्छ भन्छु । विशेषगरी राजनीतिक व्यक्तिले त यो पढ्नै पर्छ । कर्णाली गरिब छैन गरिब बनाइएको छ । कर्णाली बुझ्न जसले चाहन्छ, त्यसले यो पढ्नै पर्छ । कर्णाली बनाउँछु भनेर लाग्नेका लागि अवस्था बुझ्न यो किताब पढ्नुपर्छ ।’

पोषणविद् डा. उप्रेतीको विचारमा राज्यले कर्णालीलाई ध्यान नदिएको होइन, उनीहरूले कर्णाली गरिब नै रहोस् भनेर मागी खाने भाँडो बनाउन खोजेका हुन् । उनी भन्छिन्, ‘म पनि कर्णालीको धेरै ठाउँ घुमेकी छु । कर्णालीका नेताले कर्णालीको विकास होस् भनेर चाहेका छन् जस्तो लाग्दैन ।

डा. केसीको पुस्तकमाथि टिप्पणी गर्दै जनस्वास्थ्यविद् डा. रीता थापा भन्छिन्, ‘मैले यो किताबमा अतीत पाएँ, यस किताबमा भविष्यमा आउने चुनौती पनि छ । पुरानो नेपालले बनाएको स्वास्थ्य प्रणालीलाई पिरामिड सिस्टम भनिन्छ । डा. नवराजले यसलाई व्याख्या गर्नुभएको छ । त्यो सिस्टमलाई हामीले कसरी बनाएका थियौँ र कसरी भत्कियो ? त्यो भत्किँदाको पीडा किताबले राम्रोसँग भनेको छ ।’ 


Image

अश्विनी सिटौला

सिटौला कान्तिपुर टीभीमा कार्यरत छिन् ।