लक्ष्मण राजवंशी स्मृतिग्रन्थको लोकार्पण तथा चलचित्र ' सनाखत ' को शुभारम्भ

पुस ६, २०७९ |कान्तिपुर टीभी संवाददाता
लक्ष्मण राजवंशी स्मृतिग्रन्थको लोकार्पण तथा चलचित्र ' सनाखत ' को शुभारम्भ

काठमाडौं । लक्ष्मण राजवंशी स्मृतिग्रन्थको लोकार्पण तथा चलचित्र ‘सनाखत’ को शुभारम्भ गरिएको छ ।

सिद्धार्थ वनस्थली इन्स्टिच्युटद्वारा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लक्ष्मण राजवंशी समृतिग्रन्थको लोकार्पण र चलचित्र सनाखतको शुभारम्भ गरेका हुन् । चलचित्र सनाखतको कथा राजवंशीले नै लेखेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार श्रेष्ठले शिक्षा, साहित्य र राजनीति क्षेत्रमा समर्पित राजवंशीले शिक्षाका क्षेत्रमा गरेको योगदान अतुलनीय र प्रशंसनीय रहेको चर्चा गरे । सो अवसरमा 'सनाखत' चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका सिद्धार्थ वनस्थली इन्स्टिच्युटका अभिभावकसमेत रहेका श्रेष्ठलाई अभिनन्दन गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा लोकार्पित स्मृतिग्रन्थमाथि समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमले बोल्दै लक्ष्मण राजवंशीको बहुआयामिक व्यक्तित्वलाई ग्रन्थमा समाविष्ट विभिन्न लेखकहरूका रचनाले समेटेको बताए । डा. गौतमले राजवंशीका बारेमा यस्तै अरू ग्रन्थ पनि तयार गर्न सकिने बताए ।

इन्स्टिच्युटका प्राचार्य तथा राजवंशीका छोरा रूपक राजवंशीले आफू पिताकै पदचिह्नमा हिँडिरहेको बताए । कार्यक्रममा चलचित्रका निर्देशक आर्यम नक:मिले राजवंशीले रचना गरेको कथामा चलचित्र बनाउन पाउनु खुसीको कुरा भएको बताए । 

परराष्ट्रविद् प्रा. हिरण्यलाल श्रेष्ठले राजवंशीसँगै बिताएका दिनहरूको स्मरण गर्दै सिद्धार्थ वनस्थली माध्यमिक विद्यालयका संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको अथक परिश्रम, सीप र समयको लगानीले मात्रै आजको अवस्थामा आइपुगेको बताए।

कार्यक्रममा सिद्धार्थ वनस्थली इन्स्टिच्युटकी शिक्षिका तथा साहित्यकार अनुराधा ढकालले लक्ष्मण राजवंशीमा समर्पित मुक्तक वाचन गरेकी थिइन् ।

साहित्यकार, शिक्षाविद् तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

झण्डै साढे चार सय पृष्ठको स्मृतिग्रन्थको संयोजकमा साहित्यकार तथा मधुपर्क मासिकका प्रधान सम्पादक जयदेव भट्टराई र सङ्कलक तथा सम्पादकमा अमृता स्मृति रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.