आईपीएल : दिल्लीले राजस्थानलाई २० रनले हरायो

वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईपीएल : दिल्लीले राजस्थानलाई २० रनले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सले छैठौं जित दर्ता गरेको छ । जारी सिजनको ५६औं खेलमा दिल्लीले राजस्थान रोयल्सलाई २० रनले पराजित गरेको हो ।

दिल्लीले यसै सिजन राजस्थानसँग बेहोरेको हारको बदला लियो । यस नतिजाले दिल्लीको प्लेअफ सम्भावनालाई जिवितै राखेको छ । 

घरेलु मैदान अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो ।

दिल्लीका लागि ओपनर अभिषेक पोरेलले ३६ बलमा ६५ रन बनाए । अर्का ओपनर ज्याक म्याकगर्कले ५० रनको अर्धशतकीय गोगदान दिए । ट्रिस्टन स्टब्सले २० बलमा ४१ रनको आक्रमक इनिङ खेले । राजस्थानका रविचन्द्र आश्विनले ३ विकेट लिए ।

जवाफमा राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर २ सय १ रन मात्रै बनाउन सक्यो । राजस्थानका कप्तान सञ्जु स्यामसनले ८६ रन बनाए पनि हार टार्न सकेनन् । रियान परागले २७ रन बनाए । अन्य ब्याटर चल्ल नसक्दा राजस्थान पराजित हुन पुग्यो । दिल्लीका खलिल अहमद, मुकेश कुमार र कुलदीप यादवले २-२ विकेट लिए ।

जितपछि १२ खेलमा १२ अंक जोडेको दिल्ली पाँचौं स्थानमा उक्लिएको छ । राजस्थान ११ खेलमा १६ अंकसहित दोस्रो स्थानमा छ । लगातार दोस्रो हार बेहोरेको राजस्थानलाई प्लेअफ पुग्न केवल २ अंक चाहिएको छ । शीर्ष स्थानमा रहेको कोलकाताको पनि ११ खेमा १६ अंक छ । आईपीएलमा आज सनराईजर्स हैदराबाद र लखनऊ सुपर जाएन्ट्स भिड्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.