घरेलु भूमिमा आफ्नो अन्तिम खेलमा रफायल नाडाल पराजित

वैशाख १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
घरेलु भूमिमा आफ्नो अन्तिम खेलमा रफायल नाडाल पराजित

काठमाडौं । रफायल नाडालले घरेलु भूमिको आफ्नो अन्तिम खेलमा हार बेहोरेका छन् । नाडाल, मड्रिड ओपन टेनिसको अन्तिम १६ मा चेक खेलाडी यिरी लहेच्कासँग सोझो सेटमा पराजित भए ।

विश्व वरियताको ३०औं स्थानमा रहेका लहेच्काले, पाँच पटकका मड्रिड ओपन च्याम्पियन नाडाललाई पहिलो सेटमा ७-५ ले पराजित गरेका थिए । दोस्रो सेट ३७ वषीर्य नाडालले ४-६ ले गुमाएका थिए । 

हारपछि नाडालको यात्रा प्रिक्वार्टरफाइनलमा रोकियो । उनको करियरको यो अन्तिम मड्रिड ओपन हो । सन् २०२४ को सिजन सकिएपछि उनले सन्यास लिने संकेत गरिसकेका छन् । कोर्टबाट बाहिरिँदा नाडाललाई स्ट्यान्डिङ ओभियसन प्रदान गरिएको थियो । 

यस्तै भिडियो मार्फत कीर्तिमानी पाँच पटकका मड्रिड ओपन विजेता नाडाललाई सम्मान व्यक्त गर्दै ट्रफी पनि प्रदान गरिएको थियो । उनले यो साता आफ्ना लागि भावनात्मक रुपमा विषेश रहेको प्रतिक्रिया दिए । नाडालले जिस्किँदै अर्को वर्ष फेरि खेल्न आउने बताएका थिए । 

लहेच्काले भने अब रुसका ड्यानियल मेदभेदेभसँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै, अर्को खेलमा कार्लोस अल्काराजले जर्मनीका यान लेनर्ड स्टर्फमाथि ३ सेटको कठिन जीत हात पारे । साविक विजेता अल्काराजले पहिलो सेट ६-३ ले जितेका थिए । दास्रो सेटमा उनी पछि परे । लेनर्डले विश्व नम्बर २ अल्काराजलाई टाइब्रेकरमा हराएपछि खेल रोमाञ्चक बनेको थियो । तर, तेस्रो सेट टाइब्रकेरमा नै अल्काराजले आफ्नो पक्षमा पार्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । इटालीका यानिक सिनरले पनि रुसका करेन काचानोभलाई ३ सेटमा नै हराए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.