वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी च्याम्पियनसिपमा गण्डकी प्रदेशको पहिलो जित

मधेश प्रदेश ८ विकेटले पराजित
लुम्बिनीले कर्णालीलाई ७ विकेटले हरायो
वैशाख ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी च्याम्पियनसिपमा गण्डकी प्रदेशको पहिलो जित

काठमाडौं । गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । प्रतियोगितामा कर्णालीलाई हराउँदै लुम्बिनी प्रतियोगिताको शीर्षस्थानमा पुगेको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकीले मधेश प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । गण्डकीको जितमा विपिन खत्रीले किफायती बलिङ गर्दै ४ विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको मधेशले खराब प्रदश गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सक्यो । उसका विशाल सुस्लिङले २४ र विशाल पटेलले २२ रन बनाए । अन्य ब्याटरको प्रदर्शन राम्रो हुन सकेन ।  मधेशलाई रोक्न विपिन खत्रीले ४ ओभरमा १ मेडनसहित मात्र ५ रन खर्चेर ४ विकेट लिए । सुवास भण्डारीको नाममा २ विकेट रह्यो । 

जवाफमा गण्डकीले १ सय ३ रनको लक्ष्य २१ बल बाँकी रहँदै २ विकेट गुमाएर पूरा गर्‍यो । पहिलो विकेटका लागि ईश्वर क्षेत्री र अर्जुन कुमालले ७६ रनको साझेदारी गर्दै सहज जितको आधार तय गरे ।  ईश्वर ३२ रनमा बाहिरिए भने दीपक डुम्रे ११ रनमा रनआउट भए । अर्जुनले ४९ रनको अविजित इनिङ्स खेल्दै गण्डकीलाई प्रतियोगिताको पहिलो  जित दिलाए । हारसँगै मधेशको भने लगातार दुई खेलको विजयी यात्रामा पूर्णविराम लाग्यो । 

गण्डकी ३ खेलमा २ अंक बनाएर तालिकाको चौथो स्थानमा छ। आजै सम्पन्न अर्को खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्‍यो । आफ्नो तेस्रो खेलमा दोस्रो जितसँगै लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा पुगेको छ। समान चार अंक भएको मधेश रन रेटको आधारमा दोस्रो स्थानमा छ । प्रतियोगितामा भोलि बागमती र कोशी तथा सुदूरपश्चिम र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्ने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement