आईपीएल : कीर्तिमानी रन बनाएको सनराइजर्स हैदरावाद विजयी

चैत्र १५, २०८० |कान्तिपुर टीभी संवाददाता
आईपीएल : कीर्तिमानी रन बनाएको सनराइजर्स हैदरावाद विजयी

काठमाडौं । कीर्तिमानी योगफल तयार पारेको सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग आईपीएल २०२४ मा पहिलो जित हासिल गरेको छ । गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गर्दै हैदरावादले पहिलो जित दर्ता गरेको हो । मुम्बई भने लगातार दोस्रो खेलमा पराजित भयो ।

राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा मुम्बईले टस जितेर फिल्डिङ रोजेको थियो । हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७७ रन बनाएको थियो । जुन आईपीएल इतिहासकै सर्वाधिक ठुलो योगफल हो । यसअघिको रोयल च्यालेन्जर्स बेंगलुरुले २०१३ सिजनमा पुणे वारियर्सविरुद्ध २ सय ६३ रन बनाएको थियो ।

हैदरावादका लागि ट्राभिड हेड र मयंक अग्रवालको जोडीले २५ बलमा ४५ रनको ओपनिङ साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । अग्रवाल ११ रनमा बाहिरिए । हेडले ६२ रन जोडे । अभिषेक शर्माले २३ बलमा ६३ रन बनाए । उनी खेलको प्लेयर अफ द म्याच समेत घोषित भए । हेनरिक क्लासेन ३४ बलमा ८० रनमा नटआउट रहे । उनलाई ४२ रनको योगदान दिएका एडेन मार्करामले साथ दिए । मुम्बईका कप्तान हार्दिक पाण्डेय, जेराल्ड कुटिज र पियुष चावलाले एक-एक विकेट लिए ।

जवाफमा २ सय ७८ रनको विशाल योगल पछ्याएको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४६ रन बनाउन सक्यो । मुम्बईका इशान किशनले ३४, रोहित शर्माले २६ र नमन धीरले ३० रनको योगदान दिए । तिलक वर्माले ३४ बलमा ६४ रन बनाए । टिम डेभिड ४२ रनमा नटआउट रहे । 

हैदरावादका प्याट कमिन्स र जयदेव उनाडकटले २–२ विकेट लिए । योसँगै यस सिजन आईपीएलका सुरुवाती ८ खेल होमटिमले जिते । यस जितसँगै २ खेलमा २ अंकसहित हैदरावाद तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा जित विहीन मुम्बई १० टोली सहभागी प्रतियोगिताको पुछारबाट दोस्रो स्थानमा छ । आईपीएलमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्दै छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement