काठमाडौं । दलहरुबीच सहमति नजुट्दा आज ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अन्योल भएको छ । बैठकका विषयमा सभामुख देवराज घिमिरेले केहीबेरअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ ।
प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न भन्नुभएको छ । प्रधानमन्त्री दाहालले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिनुभयो ।
सभामुख घिमिरेले संसद् चलाउने विषयमा बानेश्वरमा कानुन मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गर्नुभएको छ । छलफलमा कानुन मन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी हुनुहुन्छ ।