मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै केदार कार्कीद्वारा सर्वोच्चमा रिट

वैशाख २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै केदार कार्कीद्वारा सर्वोच्चमा रिट

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ मुख्यमन्त्रीको नियुक्ति बदर गर्दै आफैंलाई निरन्तरता दिन मागसहित सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

कोशीका प्रदेश प्रमुख परशुराम खापुङले एमालेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि निवर्तमान मुख्यमन्त्री कार्कीले सर्वोच्चमा रिट दायर गर्नुभएको हो । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपाधारा ५ अनुसार नयाँ मुख्यमन्त्री नियुक्त गरेको भने पनि उक्त व्यवस्थाअनुसार मुख्यमन्त्री नियुक्ति गर्न नमिल्ने कार्कीको दाबी छ ।

आफू संविधानको धारा १६८ को उपाधारा ५ अनुसार मुख्यमन्त्रीको जिम्मेवारीमा रहेकै अवस्थामा सोही धाराअन्तर्गत प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्नु संविधानविपरीत रहेको भन्दै प्रदेश प्रमुखको आह्वान नै बदर गर्न पनि कार्कीले माग गर्नुभएको छ ।

रिटमा एउटै धाराअन्तर्गत दुईपटक मुख्यमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक भन्दै अन्तरिम आदेशले कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा काम कारबाही गर्न रोक लगाउन माग गरिएको छ ।

एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमालेका हिक्मतकुमार कार्कीलाई प्रदेश प्रमुख खापुङले आज बिहान मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक हुन्छ । कार्की यसअघि दुईपटक कोशीको मुख्यमन्त्री भइसक्नुभएको छ । रिटको पेसी भोलि (शुक्रबार) लाई तोकिएको छ ।

यो पनि...

मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले लिनुभयो पद तथा गोपनीयताको शपथ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.