मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले लिनुभयो पद तथा गोपनीयताको शपथ

वैशाख २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले लिनुभयो पद तथा गोपनीयताको शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले बिहीबारै प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बन्नुभएका कार्कीले बिहीबारै सानो आकारको मन्त्रिपरिषद् गठनसमेत गर्नुभएको छ । कोशी प्रदेश सभामा एमालेका उपनेता रामबहादुर राना र माओवादी केन्द्रका गणेश उप्रेतीलाई उहाँले विनाविभागीयमन्त्री नियुक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख खापुङले बुधबार दुई दिनको समय दिएर सरकार गठन गर्न आह्वान गर्नुभएको थियो । एमाले संसदीय दलका नेता कार्कीले आफ्नो पार्टी र माओवादी केन्द्रका ५२ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ ।

प्रदेश सांसदहरूलाई प्रदेश प्रमुख कार्यालय बोलाएर सनाखत गरिएको थियो । कार्की झापा निर्वाचन क्षेत्र नम्बर ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । कार्की यसअघि दुईपटक कोशीको मुख्यमन्त्री भइसक्नुभएको छ । २०७९ पुस २९ गते पहिलोपटक मुख्यमन्त्री बन्नुभएका कार्कीले सत्ता समीकरण फेरिएपछि २०८० असार १४ मा राजीनामा दिनुभएको थियो ।

सर्वोच्च अदालतको परमादेशपछि २०८० भदौ २२ मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बन्नुभएका कार्कीले असोज २० मा राजीनामा दिनुभएको थियो । केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रोपटक मुख्यमन्त्री बन्नुभएको हो । गत असोज २७ मा केदार कार्की पनि धारा १६८ को उपधारा ५ अनुसारै कोशीको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

यसैबीच निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीलाई मुख्यमन्त्रीका रूपमा कुनै काम गर्न नदिन अन्तरिम आदेशको मागसहित सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । कार्कीले दायर गरेको रिटमा प्रदेश प्रमुखले असंवैधानिक रूपमा सरकार गठन आह्वान गरेको भन्दै आफैंलाई यथावत् काम गर्न परमादेशको माग गरिएको छ ।

यो  पनि...

मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै केदार कार्कीद्वारा सर्वोच्चमा रिट


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.