पारदर्शिता र सुशासन एक-अर्काका परिपूरक : राष्ट्रपति पौडेल

वैशाख २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
पारदर्शिता र सुशासन एक-अर्काका परिपूरक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक-अर्काका पूरक रहेको बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित नेपाल चार्टर्ड एकाउन्टेन संघको कार्यक्रममा राष्ट्रपति पौडेलले खर्च र हिसाब प्रणालीको पारदर्शितामा जोडदिनुभयो । उहाँले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार रहेको धारणासमेत व्यक्त गर्नुभयो ।

‘मुलुकभर सक्रिय लेखापरीक्षककै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा पाटोको रुपमा पनि लिन सकेका छौं, हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु/गराउनु नै लेखापरीक्षकको उच्चतम् धर्म हो, आफ्नो कर्ममा धर्म नबिर्सनु नै न्याय हो, तसर्थ, न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ,’ उहाँले भन्नुभयो ।

लेखापरीक्षकहरुको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरूमा पारदर्शिता कायम गर्न योगदान पुगेको विश्वास व्यक्त गर्दै उहाँले सम्बन्धित निकायलाई पारदर्शी र जवाफदेही बनाउन चार्टर्ड एकाउन्टेन्टको विषयमा ज्ञान भएका दक्ष व्यक्तिको आवश्यकता र भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुभयो ।

विकास निर्माणका ठूला खर्चमा हुनसक्ने फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखापरीक्षणबाटै सम्भव हुने उहाँको भनाइ थियो ।

‘कुनै देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाब प्रणालीको पारदर्शिता हो, देशको आर्थिक विकास र राजस्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसैबाट हुन्छ,’ उहाँले भन्नुभयो, ‘विकास निर्माणका ठूलो खर्चमा प्रयोग हुन सक्ने फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखापरीक्षणबाटै सम्भव हुनसक्दछ ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.