गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत असंवैधानिक भन्दै कांग्रेस सर्वोच्च जाने तयारीमा

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत असंवैधानिक भन्दै कांग्रेस सर्वोच्च जाने तयारीमा

पोखरा । गण्डकी प्रदेश सभामा बहुमत नै नपुगी मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरिएको भन्दै नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ ।

सर्वोच्चमा रिट दायर गर्न नेपाली कांग्रेस संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डे आज काठमाडौं आउँदै हुनुहुन्छ । उहाँले भोलिसम्ममा सर्वोच्चमा रिट दायर गरिने जानकारी दिनुभयो ।

गण्डकी प्रदेशसभामा हिजो भएको मतविभाजनमा मुख्यमन्त्री खगराज अधिकारीले पेस गर्नु भएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३० मत परेको थियो । ६० सदस्यीय प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको व्याख्याअनुसार भन्दै ३० मतका आधारमा नै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गर्नु भएको थियो ।

तर, कांग्रेसले भने बहुमतका लागि ३१ मत चाहिने र अधिकारीले ३० मतका आधारमा विश्वासको मत पाउन नसक्ने दाबी गरेको छ । सभामुखले सर्वोच्चको आदेशलाई गलत तरिकाले व्याख्या गरेको र विश्वासको मत पाएको घोषणा असंवैधानिक रहेको पाण्डेको दाबी छ ।

कांग्रेसले यसअघि पनि सभामुखलाई समेत गणना गरेर बहुमत पुर्‍याई अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै अधिकारीको नियुक्ति खारेजीको मागसहित सर्वोच्चमा रिट दायर गरेको थियो । तर, उक्त रिट भने सर्वोच्चले खारेज गरिदिएको थियो । कांग्रेस गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो दल हो ।

सम्बन्धित समाचार...

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा तानियो


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.