बागमती मन्त्रिपरिषद् : डढेलोमा ज्यान गुमाएका परिवारलाई जनही एक लाख दिइने

वैशाख २३, २०८१ |सुजन पुडासैनी
बागमती मन्त्रिपरिषद् : डढेलोमा ज्यान गुमाएका परिवारलाई जनही एक लाख दिइने

हेटौंडा । बागमती प्रदेश सरकारले डढेलोमा परेर ज्यान गुमाएकाहरुको परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्‌को आइतबार बसेको बैठकले डढेलोमा परेर ज्यान गुमाएका ललितपुरका दुईजना र रामेछापका एक जनाको परिवारलाई जनही एक/एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै बैठकले बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ । प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारी गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश विश्वविद्यालयको संरक्षक समितिको पदावधि निर्धारणका विषयलाई स्पष्ट पार्न अध्यादेश जारी गर्ने निर्णय गरिएको उहाँले जनाउनुभयो । संरक्षक समितिमा मनोनीत भएका पदाधिकारीहरूको पहिलोपटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा दुई जनाको पदावधि २ वर्ष, ३ जनाको पदावधि ४ वर्ष र ३ जनाको पदावधि ६ वर्ष कायम गरिने व्यवस्था रहेको छ ।

उक्त व्यवस्थालाई संशोधन गरी समितिमा मनोनीत भएका पदाधिकारीहरूको पहिलोपटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा ५ जनाको पदावधि ४ वर्ष र ३ जनाको पदावधि ६ वर्ष कायम गरिने व्यवस्था गर्न अध्यादेश जारी गर्ने निर्णय भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।


Image

सुजन पुडासैनी

पुडासैनी मकवानपुरस्थित कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।