पाल्पा । पाल्पाको निस्दी गाउँपालिका-४ मित्यालमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । लु १ ज ३३२४ नम्बरको जिप निस्दी गाउँपालिका–४, मित्यालको मतियारडाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी निस्दी गाउँपालिका–४ का १६ वर्षीय तेजन सोमै र निस्दी गाउँपालिका–४, बेलखर्कका ७ वर्षीय राजीव सुनारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
दुबैको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । पाल्पाको निस्दी गाउँपालिका–३ खादरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको जिपमा सवार २७ वर्षीया धामीसरा सुनारीको पनि अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार प्रहरी चौकी रुक्सेभन्ज्याङ र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले गरेका थिए । दुर्घटनामा १३ जना घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुर र मध्यविन्दु अस्पताल नवलपरासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ । घुम्ती कच्ची र उकालो सडकमा जिपको स्टार्ट बन्द भएपछि दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ ।