काठमाडौं । नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले यसै वर्षभित्र नेपालमा कोरियाका तर्फबाट उच्चस्तरीय भ्रमण हुने बताउनुभएको छ । नेपाल कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्षको अवसरमा आज दूतावासमा आयोजित पत्रकार भेटघाटमा राजदूत पार्कले यसै वर्ष दुवै देशबाट एक अर्का मुलुकमा उच्चस्तरको भ्रमणको तयारी रहेको बताउनुभएको हो ।
हराजदूत पार्कले कुन तहको भ्रमण हुने उल्लेख नगरे पनि दुवै पक्षबाट तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले इपिएस प्रणाली अन्तर्गत काम गर्न जाने नेपाली श्रमिकलाई यसअघि निर्माण तथा कृषिमा मात्रै अवसर रहेकोमा अब सेवा क्षेत्रमा समेत अवसर बढाइएको उल्लेख गर्नुभयो ।
नेपालमा हुन्डाई कार एसेम्बलको प्लान्ट स्थापनासंगै ठूला लगानीकर्ता समेत इच्छुक रहे पनि दुवै देशबीच लगानी सम्झौता अझैसम्म नभइसकेकाले लगानी सुरक्षामा कोरियाली लगानीकर्ताहरुले चासो देखाइरहेको राजदूत पार्कको भनाइ छ ।
कोरियाले कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी–कोइकामार्फत् नेपाली श्रमिकहरुलाई कोरियामा रोजगारी दिनेमात्रै नभई नेपाल फर्किएपछि रोजगारी सृजना गर्ने उद्यमशिलतामा समेत सहयोग गरिरहेको जानकारी दिएको थियो । कोइकाले हरेक वर्ष नेपालमा एक करोड डलरभन्दा बढीको आर्थिक सहायता गर्दै आएकोमा यस वर्ष बढाएर एक करोड २० लाख डलर पुर्याइएको जनाएको छ ।