खुला सीमाका कारण झापामा लागुऔषधको तस्करी बढ्दो

वैशाख २६, २०८१ |रमा दाहाल
खुला सीमाका कारण झापामा लागुऔषधको तस्करी बढ्दो

झापा । लागुऔषधको तस्करीमा संलग्नहरुले पटकैपिच्छे ओसारपसारको शैली परिवर्तन गर्दा नियन्त्रण गर्न प्रहरीलाई टाउको दुखाइ बनेको छ। सीमा नाकामा प्रहरी तैनाथ छ । तर, भारतसँगको खुला सीमा सबैभन्दा ठुलो समस्या बनेको हो । कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्ला लागुऔषध कारोबारीका लागि ट्रान्जिट प्वोइन्ट बनेको प्रहरीको बुझाइ छ ।

लागुऔषध ओसारपसार नियन्त्रण गर्ने क्रममा केही दिनअघि झापा प्रहरीले गोली नै चलाउनु पर्‍यो । खुला सीमाको फाइदा उठाउँदै भारतबाट गाँजा, ब्राउनसुगर, नाइट्रावेट जस्ता प्रतिबन्धित लागुऔषध ओसारपसार गर्ने गिरोह झापामा धेरै पहिलेदेखि सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

त्यसमाथि लागुऔषध कारोबारीले तस्करीमा फरक-फरक शैली अपनाउँदा अनुसन्धान गर्नै समस्या परिरहेको प्रहरी अधिकारीहरु बताउँछन् । यसको उदाहरणका रूपमा प्रहरीले ब्राउनसुगरको लिटो देखाउने गरेको छ । समाजशास्त्रीहरु भने लागुऔषध प्रयोग र ओसारपसारको पछिल्लो अवस्थालाई सामाजिक चेतनाको अभावबाट सिर्जित समस्याका रूपमा बुझ्छन् ।

बितेको एक वर्षयता मात्र झापामा २८ किलो २७ ग्राम गााजा र करिब २ किलो ब्राउनसुगर बरामद भएको छ । योसँगै प्रहरीले लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा ३ सय ६८ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । 


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।