कर्णाली करिडोरअन्तर्गत छारेभिर खण्ड छिचोलियो

वैशाख २३, २०८१ |जनकबहादुर शाही
कर्णाली करिडोरअन्तर्गत छारेभिर खण्ड छिचोलियो

हुम्ला । कर्णाली करिडोरको सबैभन्दा अप्ठ्यारो मानिएको मुख्य कडा चट्टानी भाग छारेभिर खण्ड छिचोलिएको छ । हुम्लाको खार्पुनाथ र सर्केगाड गाउँपालिकाको सिमानामा रहेको उक्त भिर नेपाली सेनाले एक वर्ष लगाएर छिचोलेको हो ।

नेपाली सेनाले जिम्मा लिएको कर्णाली करिडोर अन्तर्गत निर्माणाधीन ग्युसीदेखि लालीबगर खण्डको ११.५ किमि ट्र्याक खोल्ने काम सम्पन्न गरेसँगै छारे खण्ड छिचोलिएको हो । छारे खण्ड छिचोलिएसँगै अब खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म सहजै यातायातका साधन सञ्चालनमा आउने भएका छन् ।

हाल नेपाली सेनाले निर्माण गरेको सडक कर्णाली करिडोर उत्तरखण्ड हिल्सा सिमकोट सडक योजनालाई हस्तान्तरण नभएकाले यस खण्डमा सहजरुपमा यातायात सञ्चालन गर्न अझै केही समय लाग्ने कर्णाली करिडोर सडक निर्माण कार्यदल सुनाखाडा हुम्लाले जनाएको छ ।

सेनाले सडक हस्तान्तरण गरे पनि हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सपना यसबर्ष पनि अधुरै रहने भएको छ । नेपाली सेनाले जिम्मा लिएको कडा चट्टाने भिर छिचोल्ने काम सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकाको खार्पु भएर बग्ने चुवाखोला कर्णाली नदिमा पुल नबन्दासम्म हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने सपना पूरा नहुने प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताउनु भयो ।

नेपाल सरकारले आर्थिक वर्ष ०६३/६४ बाट नै हुम्लालगायत जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने भनेर उल्लेख गरेको थियो । तर १८ औँ आर्थिक वर्ष बितिसक्दा पनि अरू सबै जिल्ला सदरमुकाम सडक सञ्जालसँग जोडिए पनि सिमकोट भने अहिलेसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन ।

हुम्ला मात्र अब नेपालको त्यस्तो एक जिल्ला हो जसको सदरमुकाम अझै राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन ।

कर्णाली करिडोरको ब्युबारा काँधदेखि छारे सडक खण्डको मुख्य कडा चट्टानी भाग छारे खण्ड छिचोलिएपछिको दृष्य । तस्बिर : जनकबहादुर शाही


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।